
काठमाडौं : साउन महिनामा करिब ४२ हजार नेपालीले नयाँ काम खोज्दै पहिलोपटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले मासिक रूपमा सार्वजनिक गर्ने प्रगति विवरणअनुसार साउनमा ७० हजार ४ सय ४१ जनाले सबै प्रकारको श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये नयाँ श्रमिकको संख्या ४१ हजार ८ सय ८९ जना छ ।
त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत जान श्रम स्वीकृति लिएको संख्या २९ हजार ४ सय ४७ र व्यक्तिगत श्रम स्वीकृति लिने श्रमिकको संख्या १२ हजार ४ सय ४२ रहेको छ ।
विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत साउनमा युएईमा ९ हजार ३ सय ७५ जना, मलेसियामा ९ हजार १ सय ७०, साउदी अरेबियामा ३ हजार ७ सय ६९, कुवेतमा २ हजार ५ सय ५, कतारमा १ हजार ८ सय २५, साइप्रसमा ८ सय ६४, ओमानमा ८ सय ७, बहराइनमा ३ सय ७, माल्दिभ्समा २ सय ४२, जोर्डनमा २ सय ४२, जापानमा २ सय ३७, मौरिससमा ९५, मकाउमा ८ र हङकङमा १ जना गएका छन् ।
साउनमा २७ हजार ७ सय ४८ जनाको पुनः श्रम स्वीकृति भएको छ । सरकारले ‘जिटुजी’ मार्फत पठाउने दक्षिण कोरिया र इजरायलका लागि ७ सय १२ जनाको श्रम स्वीकृति भएको छ ।
समग्रमा साउनमा मुख्य श्रम गन्तव्य युएईमा सबैभन्दा बढी १८ हजार ७ सय ८४ जनाको श्रम स्वीकृति भएको छ । त्यसपछि मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरेबियाका लागि ८ हजार ६ सय १३ जनाको श्रम स्वीकृति भएको छ ।
सरकारले युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण सहज नबनाउँदा नेपाली श्रमिकका लागि खाडी मुलुक र मलेसिया नै परम्परागत र बाध्यताको गन्तव्यका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
व्यवसायीहरूले ठुलो जनादेशबाट बनेको सरकारले कम तलब र जोखिमयुक्त गन्तव्य परिवर्तनका लागि ठोस पहल नगरेको गुनासो गरेका छन् ।