
दोहा, कतार : उपचारका क्रममा गत जुलाई ७ मा दोहास्थित हमाद अस्पतालमा निधन भएकी ललितपुरकी सिर्जना डंगोलको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारको समन्वयमा संकलित २ लाख ११ हजार ३ सय ४० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । स्तन क्यान्सरबाट पीडित डंगोलको कतारमा उपचारकै क्रममा निधन भएको थियो । उनका दुई सन्तान छन् । डंगोल करिब १८ महिनाअघि कामका लागि कतार आएकी थिइन् ।
कतारमा रहँदा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि एनसिसी कतारले निधन हुनुभन्दा करिब तीन महिना अघिदेखि नै विभिन्न माध्यमबाट सहयोग गर्दै आएको थियो । एनसिसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले डंगोलका आफन्त तथा निकट व्यक्तिहरूको पहलमा उनलाई खाद्यान्न, रासनलगायत आवश्यक सहयोग उपलब्ध गराइएको बताए l
उपचारका क्रममा उनको मृत्यु भएपछि शव नेपाल पठाउन आर्थिक समस्या देखिएपछि एनसिसी कतारले सामाजिक सञ्जालमा सञ्चालन गरेको साझा मेसेन्जर समूहबाट आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरेको थियो । साथै, नेपाली दूतावास कतारमार्फत वैदेशिक रोजगार बोर्डसँग समन्वय गरी शव नेपाल पठाउने आवश्यक प्रक्रिया र हवाई टिकटको व्यवस्थाका लागि पहल गरिएको थियो। एनसिसी कतारको पहलपछि वैदेशिक रोजगार बोर्डमार्फत शव नेपाल लैजान लाग्ने आवश्यक खर्च व्यवस्थापन भएको पौडेलले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
त्यसपछि संकलित रकम भने डंगोलका दुई नाबालक सन्तानको शिक्षा, लालन पालन तथा भविष्यका आवश्यकतामा सहयोग पुगोस् भन्ने उद्देश्यले परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम ललितपुरको महानगरपालिका–१ को वडा कार्यालयमा डंगोलका श्रीमान् तथा वडा नं. १ का अध्यक्ष निर्मल तुण्डकारको रोहवरमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा एनआरएनए आइसिसीका सचिव रमेश भट्ट, एनआरएनए एनसिसी कतारका सचिव सुजन गुरुङ तथा एनसिसी कतारका पूर्व सल्लाहकार बुद्धिप्रसाद भण्डारीलगायतको उपस्थिति थियो। सहयोग हस्तान्तरणका क्रममा एनसिसी कतारले डंगोलको परिवारलाई सहयोग गर्न साथ दिने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले कतारमा कार्यरत नेपाली श्रमिकलाई कुनै पनि किसिमको समस्या पर्दा एनसिसी कतार सधैं उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले श्रमिकका दुःख, अभाव र अन्यायका विरुद्ध तथा उनीहरूको हित र संरक्षणका लागि एनसिसी कतार निरन्तर सक्रिय रहेको बताए । उनका अनुसार कतारमा रहेका श्रमिकलाई अप्ठ्यारो पर्दा मानवीय सहयोग र आवश्यक समन्वय गर्नु एनसिसी कतारको प्रमुख दायित्वमध्ये एक हो ।