
काठमाडौं : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा तीर्थयात्रीलाई लक्षित गर्दै निःशुल्क क्वाँटी तथा तातोपानी वितरणसँगै स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका र टोखा नगरपालिका-१ स्थित श्री पञ्चधाम सेवा केन्द्र, नेपालको आयोजना तथा गोसाइँकुण्ड क्षेत्र विकास समिति, अल नेपाल हस्पिटल, लायन्स क्लब अफ काठमाडौं ब्ल्ड सोसियल सर्कल नर्थको सह–आयोजनामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
आयोजकका अनुसार भदौ १० गतेदेखि १२ गतेसम्म गोसाइँकुण्ड परिसरमा पुग्ने श्रद्धालु तथा तीर्थयात्रीका लागि निःशुल्क क्वाँटी र तातोपानी वितरण गरिनेछ । साथै तीर्थयात्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षणसमेत गरिने जनाइएको छ ।
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा देशका विभिन्न स्थानबाट ठुलो संख्यामा तीर्थयात्री पुग्ने गर्छन् । उच्च हिमाली क्षेत्रमा हुने यात्राका क्रममा तीर्थयात्रीलाई आवश्यक स्वास्थ्य सेवा तथा तातोपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत गोसाइँकुण्ड आउने श्रद्धालुलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श तथा प्राथमिक सहयोग उपलब्ध गराउने तयारीसमेत गरिएको छ ।