
नेपाल चिया उत्पादनमा आत्मनिर्भर छ । हजारौं किसानका लागि चियाखेती रोजगारी र आम्दानीको महत्त्वपूर्ण आधार बन्दै गएको छ । सहकारी अभियानले साना किसानलाई संगठित गर्दै उत्पादन, प्रशोधन र बजारसम्म पुग्ने आधार पनि तयार गरेको छ । देशभर करिब १८ देखि २० हजार किसान व्यावसायिक चिया खेतीमा संलग्न छन् भने ११० चिया सहकारी सञ्चालनमा छन् । तर, उत्पादन बढ्दै जाँदा बजारको समस्या पनि गहिरिँदै गएको छ ।
नेपालमा वार्षिक करिब तीन करोड किलो तयारी चिया उत्पादन हुन्छ । यसमध्ये ठुलो हिस्सा भारतमा निर्यात हुँदै आएको छ । नेपाली चियाको करिब ७० प्रतिशत भारतीय बजारमा निर्भर हुनु उद्योगका लागि ठुलो जोखिम हो । भारतले बेलाबखत आयातमा गुणस्तर परीक्षण र अन्य प्रक्रियागत झन्झट खडा गरेर नेपाली चिया रोक्ने गरेको छ । यस वर्ष पनि परीक्षण प्रक्रियाका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग प्रभावित भएको र ठुलो परिमाणमा चिया गोदाममै थन्किन पुग्यो । यस्ता अवरोधको प्रत्यक्ष मारमा चिया किसान छन् । चियाले बजार नपाउँदा किसानले उत्पादनको मूल्य र भुक्तानीसमेत पाउँदैनन् । त्यसैले नेपाली चियाको समस्या उद्योगीको मात्र नभई हजारौं किसानको जीविकोपार्जनसँग पनि जोडिएको छ ।
अब नेपालले भारतलाई मात्र दोष दिएर बस्ने अवस्था छैन । छिमेकी मुलुक हाम्रो महत्त्वपूर्ण बजार हो । व्यापारिक सम्बन्धलाई अझ व्यवस्थित बनाउँदै निर्यातको सरल र व्यवस्थित स्थिरता खोजिनुपर्छ । साथै, वैकल्पिक बजार विस्तारमा पनि अब ढिलाइ गर्नु हुन्न । युरोप, अमेरिका, क्यानडा, जापान, चीनलगायत बजारमा नेपाली चियाको सम्भावना खोजिनुपर्छ । नेपालले विगतमा ३५ भन्दा बढी मुलुकमा चिया निर्यात गरेको तथ्यले पनि नयाँ बजार विस्तार सम्भव छ भन्ने देखाउँछ । यसका लागि सरकारले अनुदान बाँड्नेभन्दा उत्पादन र बजारको पूर्वाधारमा लगानी गर्नुपर्छ । नेपाली चियाको गुणस्तर प्रमाणीकरण, ट्रेसिबिलिटी, अर्गानिक उत्पादन, कीटनाशक अवशेष परीक्षण, खाद्य सुरक्षा र आकर्षक प्याकेजिङमा विशेष ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय बजारले खोज्ने मापदण्ड पूरा नगरी ठुलो बजारको अपेक्षा गर्न सकिँदैन ।
अर्कोतर्फ, चिया सहकारीलाई हरियो पत्ती संकलन गर्ने संस्थाका रूपमा मात्र सीमित गरिनुहुँदैन । किसान आफैंले प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्न सक्ने वातावरण बनाउनुपर्छ । नेपाली चियाको आफ्नै ब्रान्ड विश्व बजारमा स्थापित गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउनेछन् । हामी चिया उत्पादनमा आत्मनिर्भर भएर मात्र पुग्दैन, बजारमा पनि आत्मनिर्भर बन्नुपर्छ । नेपाली चियाले भारतीय बजारमा मात्र होइन, विश्व बजारमा आफ्नो पहिचान बनाउने अवस्थामा पुग्नुपर्छ । सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय भए नेपाली चिया बलियो निर्यात उद्योग बन्न सक्छ ।