
रौतहट : रौतहटको गुजरा नगरपालिका–२ चोचास्थित सिँचाइ नहरमा मंगलबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ ।
नहरको पानीमा बग्दै आएको अवस्थामा स्थानीयले शव देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । बिहान करिब पौने ११ बजे शव बगिरहेको सूचना प्राप्त भएपछि सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो ।
घटनाको विस्तृत अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा क्राइम सिन अनुसन्धान टोलीसमेत घटनास्थलमा खटिएको छ । टोलीले घटनास्थलबाट आवश्यक प्राविधिक प्रमाण संकलन गरी घटनाको प्रकृति पत्ता लगाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
हालसम्म मृतक पुरुषको नाम, थर, ठेगाना र उमेर खुल्न सकेको छैन । उनको मृत्यु हत्या, दुर्घटना वा अन्य कुनै कारणबाट भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।