२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लोक सञ्चारकर्मीद्वारा एकैसाथ ११ मौलिक तिज गीत विमोचन

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:०२
लोक सञ्चारकर्मीद्वारा एकैसाथ ११ मौलिक तिज गीत विमोचन

काठमाडौं : राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकैसाथ ११ वटा मौलिक तिज गीतको विमोचन गर्नुका साथै मौलिक तिजको महत्वको विषयमा विमर्शसमेत गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा आउँदै गरेको हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर ११ वटा मौलिक तिज गीतको विमोचन गर्नुका साथै तिजको महत्वको विषयमा विमर्श गरिएको हो । राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा ११ वटै गीतका सर्जकहरूको उपस्थितिमा सामूहिक विमोचन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकपनले भरिएका गीतहरू सामूहिक रूपमा विमोचन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । साथै, उनले यस महत्वपूर्ण कार्यको आयोजना गरेकोमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालप्रति धन्यवाद व्यक्त गरे । महाप्रबन्धक पुनले मौलिक सांस्कृतिक पर्व तिज भन्ने बित्तिकै नारीहरू जोडिने भएकाले नारीहरूको भाव गीतमा समावेश हुनुपर्ने उल्लेख गर्दै सस्तो लोकप्रियतातर्फ नलाग्न सम्पूर्ण कलाकारहरूलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तिज एक सांस्कृति पर्व हो, यसलाई नयाँ पुस्तासम्म पुर्याउन चुनौती छ, अहिले सांस्कृतिक संस्थानले त्यो कुरालाई विशेष ध्यान दिएको छ, त्यसका लागि संस्थानबाट विभिन्न कार्यक्रमहरू राखिएको छ । उनले अगाडि भने, ‘संगीत सेन्सरको कुरामा नियमन निकायको रूपमा सांस्कृतिक संस्थानले अधिकार पाएमा त्यसमा काम गर्नेछ, त्यसका लागि हामीले सरकारसमक्ष पत्र पनि पठाइसकेका छौँ ।’

त्यसैगरी कार्यक्रमा वरिष्ठ गायक एवम् सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्कीले पछिल्लो समय गीतमा विकृति आयो भन्ने निकै सुनिरहेको तर विकृति गीतमा मात्रै नभई संस्कृति र हरेक भाषामा रहेको भन्दै आफूहरूले अध्ययन गरिरहेको बताए । २०४४ सालमा आफूले तिजमा पनि गीत निकाल्नुपर्छ, महिला दिदीबहिनीहरूलाई नाँच्ने गीत चाहिन्छ भनेर शुरु गरेको सुनाउँदै वरिष्ठ गायक कार्कीले पछिल्लो समय तिज गीत हेर्न र सुन्न लायक नभएको गुनासो गरे ।

उनले पछिल्लो समय आफूले घरमा टेलिभिजन हेर्नै छाडेको समेत बताए । यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ वषअघि गाएको गीतलाई स्मरण र अहिले आइरहेका गीतमाथि विमर्श गर्दै त्यस समयका गीत र अहिलेमा धेरै फरक रहेको बताइन् । समय पनि परिवर्तन हुँदै आएको उल्लेख गर्दै वरिष्ठ गायिका थापाले समय र प्रविधि परिवर्तन भयो भन्दैमा मौलिकता बिर्सन नहुनेमा जोड दिइन् ।

विकृति फैलाउने गीत आयो भनिरहँदा शुरुमै गीत बनाउने सर्जकले नै निकै विचार पु¥याएर निकाल्नुपर्ने सुझाव दिँदै उनले आफ्नो विवेक कहाँ प्रयोग गर्ने भन्ने विषयमा पनि ध्यान दिन जरुरी रहेको बताइन् । उनले पछिल्लो समय बजारमा आएका गीतका भिडमा कतिपय गीत र भिडियोले गीतकै कुनै मर्म बोकेको नहुने भन्दै ती गीतबाट हामीले के पायौँ भन्दै प्रश्न गरिन् । साथै उनले सरकारले केही गरेन भन्नुभन्दा पनि कलाकारहरू आफैँ सुध्रिनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी गायिका शर्मिला गुरङले पछिल्लो समय तिजगीत भन्दै विभिन्न खालका गीत सार्वजनिक भइरहेको अवस्थामा उक्त विमोचन भएका गीत हेरेर यस्ता मौलिक गीत पनि सार्वजनिक भएको भन्दै खुसी व्यक्त गरिन् । साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरूलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सञ्चारकर्मीले गरेको बताइन् । कलाकारसँगै सञ्चारकर्मीहरूले यसरी नै आफ्नो कर्म नबिर्सिदिन पनि उनले आग्रह गरिन् । तिजमा भड्किलो गीत गाउनेहरूलाई मिडियाले खबरदारी गर्ने हो भने त्यस्ता गीत गाउनेहरू आफैँ विस्थापित हुने उनले बताइन् ।

कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष एवम् लोकदोहोरी प्रतिष्ठानका महासचिव शिव हमालले तिजको समयमा आउने विकृतिजन्य गीतहरूप्रति प्रतिष्ठानले पनि सधैँ आवाज उठाउँदै आएको र त्यस्ता कलाकारलाई निरुत्साहित गर्ने गरेको बताए । पछिल्लो समय मौलिकभन्दा पनि उच्छृंखल गीत गाउने र नाच्नेहरूको डिमान्ड हुने गरेकाले त्यस्ता काम रोक्न सम्पूर्ण कलाकारलाई आग्रह गरे ।

यसैगरी गायिका सिन्धु मल्लले आफ्नो २ दशक लामो सांगीतिक यात्रामा आफूले कहिल्यै पनि लोक क्षेत्रमा असर पर्ने, विकृति फैलाउने गीत नगाएको सुनाउँदै शुरुमा आफैँले सेन्सर गर्नुपर्ने बताइन् । गायिका मल्लले पछिल्लो समय तिज गीतको समयमा विकृति फैलिएको आफूले पनि महसुस गरेको भन्दै पहिलेको समय र अहिलेको समय परिवर्तन भएको तर समयको परिवर्तन हुँदैमा समाजमा स्वीकार गर्न गाह्रो हुने गीत संगीतलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिइन् ।

त्यस्तै गायक बद्री पंगेनीले पछिल्लो समय लोक गीतमा आएका विकृतिमाथि आवाज उठाउँदै आएकोमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई धन्यवाद दिए । उनले राज्यको निकायबाट गीत संगीतलाई नियमन गर्ने निकायको आवश्यक भएको भन्दै यस विषयमा राज्यले विशेष ध्यान दिनुपर्ने समय आएको बताए । इन्द्रेणी समाजका अध्यक्ष एवम् गायक कृष्ण कँडेलले नराम्रा गीतका विषयमा कसैले नबोल्ने, प्रचारप्रसार नगर्ने र वास्तै नगर्ने हो भने त्यस्ता गीत र सजर्क आफैँ विस्थापित हुँदै जाने बताए । राम्रालाई सञ्चारकर्मीहरूले पनि प्रचार गर्दै जाने र नराम्रालाई आमदर्शकले पनि वास्ता नगरिदिन उनले आग्रह गरे ।

आइतबार सम्पन्न भएको सो कार्यक्रममा विमोचित ११ वटा मौलिक तिज गीतहरूमा सर्जक प्रेम सापकोटा सोनुको ‘काली पसम की’ पनि थियो । सो गीत प्रेम सापकोटा सोनुको शब्द, संगीत र शान्तिश्री परियारको स्वरमा छ । यसैगरी, गायिका शर्मिला गुरुङको ‘बाबाको आँगनीमा’ विमोचन भएको अर्को गीत हो । सो गीतमा शर्मिला गुरुङको शब्द र संगीत तथा कमला पोखरेल र शर्मिला गुरुङको स्वर छ ।

यसैगरी, गायिका शान्ता जिसीको ‘फेरि आयो तिज’ प्रेम सापकोटा सोनुले लेखेका हुन् । गीतमा सोपकोटाकै संगीत तथा शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर छ । गायक सूर्य खड्को ‘बुद्धका देश सीताका माइती’ शिव अखेलीको शब्द र संगीतले सजिएको हो । सूर्य खड्का र सुनिता बुढाको गीतमा स्वर छ । गायिका अनिता चलाउनेको ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’ को पनि विमोचन गरिएको छ ।

सो गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा अनिता चलाउने र खेम सेन्चुरीको स्वर छ । गायिका उमा श्रेष्ठको ‘मैदानमा ताल’ पिन विमोचन गरिने गीतमा रहेको थियो । सो गीतमा श्रीकृष्ण क्षेत्री शब्द, संगीत र उमा श्रेष्ठको स्वर छ । सर्जक सुरेन्द्र कार्कीको ‘कालो कपाल पारेर फरर’ को सर्जक संगीता भुजेल हुन् । गीतमा सुरेन्द्र कार्कीको संगीत र खुमन अधिकारी र कल्पना पराजुलीको स्वर छ । निर्मलाराज पौडेलको ‘यसपालिको तिज रमाइलो’ पनि विमोचन भयो । सो गीतमा निर्मलराज पौडेलको शब्द र मोहित मुनालको संगीत र शान्तिश्री परियारको स्वर छ ।

गायिका सुनिता बुढा क्षेत्रीको ‘चेलीलाई माइती’ बोलको गीत विमोचन हुने अर्को गीत हो । सो गीतमा सुनिता बुढा क्षेत्रीको शब्द, संगीत र स्वर छ । र गायिका राधिका ढकालको ‘सारी लरक्कै’ मा शब्द र संगीत भीमसेन खतिवडाको हो । राधिका ढकाल, शारदा रसाइली, सपना गुरुङ र कोपिला वाइबा तामाङको सो गीतमा स्वर छ । यसैगरी, सरस्वती लामिछानेको ‘सैनाले दिएको ऐना’मा शिव हमालको शब्द र संगीत छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैँ आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरूले बनाएको संस्कृतिलाई अहिलेकाले जोगाउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सामूहिक रूपमा विमोचित भएका ११ वटा मौलिक तिज गीतका सर्जकहरूलाई आगामी दिनहरूमा पनि यस्तै मौलिक गीत सिर्जना गर्न सुझाव दिँदै बधाई ज्ञापन गरे । साथै, अध्यक्ष गौतमले गीतसंगीतमा लागेका सम्पूर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रहसमेत गरे । उनले हामी सबैले संस्कृति र संस्कारलाई भुलेनौँ भने मौलिकता बच्नेछ भन्दै आगामी दिनमा यस्ता गीत विमोचनलाई स्थान दिइरहने उद्घोष गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise