२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

उद्धार र राहतलाई प्रभावकारी बनाऊ

Nada
२०८३ भदौ १२ गते ०६:१०
Shares
उद्धार र राहतलाई प्रभावकारी बनाऊ

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठुलो मानवीय संकट निम्त्याएको छ । बुधबार बिहान केही घण्टामै नदीतटीय क्षेत्रका दर्जनौं बस्ती, सडक, पुल र पूर्वाधारमा ठुलो क्षति पुग्यो । हजारौं नागरिक केहीबेरमै घरबारविहीन भएर खुला आकाशमुनि आइपुगे । यस्तो अवस्थामा सरकारको पहिलो जिम्मेवारी उद्धार, राहत र सुरक्षित बसोबासको व्यवस्था गर्नु बनेको छ । सरकारले सुरक्षाकर्मी परिचालन गरेर उद्धार थालेको छ । हेलिकोप्टरबाट जोखिममा परेका नागरिकलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । अस्थायी आवासको व्यवस्था गरिएको छ । प्रभावित जिल्लाका विपद् कोषमा रकम पठाइएको छ । राहत सामग्री पनि प्रभावित क्षेत्रमा पठाउन थालिएको छ । यी काम सकारात्मक छन् । तर, विपद्को आकार ठुलो भएकाले सरकारी प्रयास अझ प्रभावकारी, व्यवस्थित र छिटो बनाउन केही चुनौती पनि छन् । 

ncell

यस्तो बेला हराइरहेका नागरिकको खोजी, घाइतेको उपचार र विस्थापितको सुरक्षित स्थानान्तरणलाई पहिलो प्राथमिकता दिनुपर्छ । राहत शिविरमा पुगेका नागरिकलाई खाना र पानी मात्र होइन, स्वास्थ्य, सरसफाइ र सुरक्षाको पनि उचित व्यवस्था चाहिन्छ । महिला, बालबालिका र वृद्धवृद्धाको विशेष आवश्यकता ध्यान दिनुपर्छ । राहत वितरणमा सरकारले अपनाएको एकद्वार प्रणाली सही कदम हो । तर, त्यसलाई व्यवहारमै प्रभावकारी बनाउन जरुरी छ । सहयोग गर्न चाहने व्यक्ति, संस्था र विदेशी निकायबाट आउने नगद तथा सामग्री व्यवस्थित रूपमा संकलन र वितरण हुनुपर्छ । राहतको नाममा हुने दोहोरो वितरण, अनियमितता र पहुँचवालाको प्रभाव रोक्न एकद्वार प्रणालीलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्छ । 

विपद्का बेला राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैको साथ आवश्यक हुन्छ । सर्वदलीय बैठकमार्फत उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता आउनु सकारात्मक छ । अब त्यो प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । तर, अहिलेको संकट तत्कालीन राहतमा मात्र सीमित छैन । भोटेकोशी क्षेत्रमा फेरि बाढी आउन सक्ने जोखिम कायमै रहेको सूचना आएको छ । माथिल्लो क्षेत्रमा बनेको प्राकृतिक तालका कारण थप जोखिम रहेको बताइएको छ । त्यसैले सम्भावित जोखिम क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने र निरन्तर सूचना दिने काम पनि उत्तिकै महत्त्वपूर्ण छ । 

सरकारले विपद् व्यवस्थापनमा विगतका अनुभवबाट सिक्नुपर्छ । अघिल्ला घटनाबाट सिकेर जोखिम पहिचान, पूर्वसूचना, उद्धार र राहतको व्यवस्था बलियो बनाउनुपर्छ । अहिले उद्धारमा खटिएका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक छ । उद्धारमा गति, राहतमा पारदर्शिता र पुनस्र्थापनामा जिम्मेवारी अहिलेको मुख्य आवश्यकता हो । भोटेकोशी बाढीले निम्त्याएको विपद्ले अहिले देश शोकमा डुबेको छ । तर, यसलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न सकिन्छ । सरकार सबै पक्षलाई साथमा लिएर अगाडि बढोस् । 

ताजा खबर

सम्बन्धित खबर