
रसुवाको भोटेकोशीमा आएको बाढीसँगै सार्वजनिक भएका केही दृश्यले कतिपय मानिसमा रहेको मावनता उजागर गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय स्वयंसेवक र सर्वसाधारण उद्धारमा खटिएका छन् । विपद्मा सिंगो देश शोकमग्न छ, कैयन मानिसहरू बाढीमा फसेका र जोगिएकाहरूको ज्यान बचाउन लागिपरेका छन् । तर, बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने र सेफ फोर्ने जस्ता कार्य गर्नेहरू पनि देखए । बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकालिएको भिडियो सार्वजनिक भयो । घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेका छन् । धादिङमा नदीले बगाएर ल्याएको बैंकको सेफ फोरेर रकम निकाल्ने २९ जना पनि पक्राउ परेका छन् । उनीहरूबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ । अर्कोतर्फ बाढीले बगाएका ग्यास सिलिन्डर लगायतका सामान सर्वसाधारणले उठाएर लैजाँदै गरेका दृश्य पनि सार्वजनिक भएका छन् । यस्तो दृश्य देखेपछि धेरैले सामाजिक सञ्जालमा प्रकोपसँगै मानवीय संवेदना पनि कमजोर हुँदै गएको त छैन ? भनेर प्रश्न गरेका छन् ।
बाढीले घर बगाउँछ, खेत बगाउँछ, सडक र पुल बगाउँछ । मानिसको जीवन पनि बगाउँछ । तर विपत्तिले मानिसभित्रको मानवता चाहिँ बगाउन हुँदैन । शवबाट सुन निकालेको, सेफ फोडेको घटना मानवता बगाएको दर्शाउने दृश्य हो । यी घटनालाई केवल लुटपाट भनेर पन्छाउन मिल्दैन । यो सामाजिक चरित्र र मानवीय संवेदनाको परीक्षा पनि हो । कानुनतः कसैको मृत्यु भएपछि पनि उसको शरीरमा रहेको गहना बेवारिसे हुँदैन । त्यसमा मृतकका हकवालाको अधिकार हुन्छ । त्यसैगरी बाढीले घर वा व्यवसायबाट बगाएर ल्याएको सेफ, ग्यास सिलिन्डर वा अन्य सामान नदीकिनारमा भेटिँदैमा त्यो भेट्ने व्यक्तिको सम्पत्ति हुँदैन । मुलुकी अपराध संहिता, २०७४ ले अरूको सम्पत्ति बेइमानीको नियतले आफ्नो बनाउने कार्यलाई चोरी मानेको छ । अझ भूकम्प, आगलागी, बाढी वा यस्तै संकटको मौका छोपी चोरी गरेमा दुईदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । साथै, कानुनको डरले मात्र असल नागरिक बन्ने होइन । मानवीयता कानुनभन्दा अझ माथि हुनुपर्छ ।
बाढीमा आफ्नो सबैथोक गुमाएको परिवारलाई थप पीडा दिने होइन । उसको बाँकी सम्पत्ति सुरक्षित गरिदिनुपर्छ । बाढीले बगाएर ल्याएको सेफ भेटिए प्रहरीलाई बुझाउने हो । ग्यास सिलिन्डर भेटिए सम्बन्धित मालिक वा प्रशासनलाई जानकारी दिने हो । शव भेटिए गहना खोज्ने होइन, सम्मानपूर्वक उद्धार गरी परिवारसम्म पुर्याउने प्रयास गर्ने हो । सबैले ख्याल गर्नुपर्छ, सुरक्षाकर्मी, स्थानीय युवा, स्वयंसेवक र सर्वसाधारणले जोखिम मोलेर मानिसको उद्धार गरेका छन्, शव खोजेका छन्, विस्थापितलाई सहयोग गरेका छन् । यही हो संकटको समयमा देखिनुपर्ने मानवीयता । यसलाई कायम राख्नुपर्छ । बाढीले सम्पत्ति बगाउन सक्छ, जीवन बगाउन सक्छ । तर मानिसको मानवता बग्नु हुँदैन ।