
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, व्यवसाय र बैंकका सम्पत्तिसँगै मानिसको ज्यानसमेत बगायो । विपद्मा परेकाको उद्धार र राहतमा राज्यका निकाय तथा सर्वसाधारण जुटिरहेका बेला बाढीले बगाएर ल्याएका सम्पत्ति लुटपाट भएका घटना पनि सार्वजनिक हुन थालेका छन् ।
बिहीबार बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना निकालिएको भिडियो सार्वजनिक भयो । उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा चितवन प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार धादिङमा नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेको समाचार आयो । यस्तो आरोपमा २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
यससँगै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामान सर्वसाधारणले उठाएर लैजाँदै गरेका दृश्यसमेत सामाजिक सञ्जालमा देखिएका छन् ।
कानुनतः बाढीले बगाएको सामान लिनु दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ ले चोरी गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । उक्त दफाअनुसार अरू व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति सम्बन्धित व्यक्तिको मञ्जुरीबिना बेइमानीको नियतले आफ्नो बनाउन, उपभोग गर्न वा लिनका लागि लिएमा वा स्थान परिवर्तन गरेमा चोरी भएको मानिन्छ ।
यसको अर्थ बाढीले कुनै घर, पसल, बैंक वा व्यवसायबाट सामान बगाएर ल्यायो भन्दैमा त्यसको स्वामित्व स्वतः समाप्त हुँदैन । उदाहरणका लागि बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर सडक वा नदी किनारमा भेटियो भने त्यो सिलिन्डर जसको घर वा व्यवसायबाट बगेको हो, उसको कानुनी हक कायम रहन सक्छ । त्यस्तै बैंकको सेफ बाढीले बगाएर अर्को ठाउँमा पुर्याए पनि त्यसमा रहेको रकममाथिको स्वामित्व समाप्त हुँदैन ।
सामान भेटेपछि सम्बन्धित निकायलाई बुझाउन सकिन्छ । तर त्यसलाई फोडेर पैसा निकाल्नु, लुकाउनु, बेच्नु वा आफ्नो बनाउनु दण्डनीय कार्य हो ।
बाढीको मौका छोपेर चोरी गरे झन् कडा सजाय हुने व्यवस्था छ । यससम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिताको दफा २४२ मा छ ।
दफा २४२ को उपदफा (१) को खण्ड (ग) ले भूकम्प, आगलागी, बाढी, हुलदंगा वा यस्तै प्रकृतिको संकटापन्न अवस्था अथवा दुर्घटनाको मौका छोपी सम्पत्ति चोरी गरेको अवस्थामा दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
अर्थात् सामान्य अवस्थामा हुने चोरी र विपद्को मौका छोपेर गरिने चोरीलाई कानुनले एउटै रूपमा हेरेको छैन ।
प्रहरीका अनुसार ‘बाढीले बगाएर ल्याएको त हो’, ‘मालिक को हो थाहा छैन’, ‘सबैले उठाइरहेका थिए, मैले पनि उठाएँ’ भन्ने तर्क गरेर यस्तो अपराधबाट उन्मुक्ति पाइँदैन । अर्को व्यक्तिको सम्पत्ति हो भन्ने थाहा हुँदाहुँदै वा बेइमानीको नियतले आफ्नो बनाउन खोजेको कसुरमा कानुनी कारबाही हुन सक्छ ।
यसअनुसार धादिङमा पक्राउ परेका २९ जनाको घटनामा प्रहरीले उनीहरूले नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार उनीहरूबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ । गल्छी गाउँपालिका–४ बेल्खुखोला क्षेत्रमा त्रिशूली नदी किनारमा सेफ भेटिएको र त्यसलाई आफूखुसी फोरेर रकम निकालिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको विवरण सार्वजनिक भएको छ ।
अब अनुसन्धानका क्रममा सेफ कसको थियो, त्यसमा कति रकम थियो, पक्राउ परेकाहरूले सेफ कसरी कब्जामा लिए, रकम निकाल्ने उद्देश्य के थियो र उनीहरूले रकम आफ्नो बनाउन खोजेका थिए कि थिएनन् भन्ने निर्योल गरिन्छ ।
यी तथ्य प्रमाणित भएपछि सम्बन्धित कसुरदारलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
बाढीमा मृत्यु भएकी महिलाको शवबाट सुनका गहना निकालिएको घटनामा पनि यस्तै घटना हो ।
कसैको मृत्यु हुँदैमा उसको शरीरमा रहेको सुन वा गहना बेवारिसे हुँदैन । मृतकको सम्पत्तिमाथि कानुनबमोजिम हकवालाको अधिकार रहन्छ । त्यसैले शवबाट गहना निकालेर आफ्नो बनाउने कार्यलाई सामान्य रूपमा ‘भेटिएको सामान उठाएको’ भनेर मात्र हेर्न मिल्दैन ।
अनुसन्धानबाट मृतकको गहना बेइमानीको नियतले निकालेर आफ्नो बनाउन खोजेको र घटना बाढीको संकटको मौका छोपी गरिएको प्रमाणित भयो भने मुलुकी अपराध संहिताको दफा २४१ अन्तर्गत चोरी र दफा २४२(१)(ग) अन्तर्गत विपद्को मौका छोपेर चोरी गरेको कसुरमा कारबाही हुन्छ ।
साथै, यसलाई धेरैले मानवीयतासँग समेत जोडेर हेरेका छन् । रास्वपाका प्रवक्ता जगदिश खरेल लासबाट समेत सुन चोर्ने अवस्थामा समाज पुग्नलाई गम्भीर विषय मान्दछन् ।
उनी भन्छन्, ‘बगाएर ल्याएको शवबाट कसैले सुन चोर्छ भने हामी आफैंले सोच्नुपर्यो नेपाली समाज कहाँ गइरहेको छ ?’