
दोहा, कतार : कतारको एसियन टाउनस्थित प्लाजा मल नेपालीहरूको व्यावसायिक गतिविधिको केन्द्र बन्दै गएको छ। यस क्रममा सुनसरीका दुई दाजुभाइ फैजल अन्सारी र सज्जाद अन्सारीले प्लाजा मलको पसल नम्बर ७ मा ‘सुन्धारा क्याफ्टेरिया’ सञ्चालनमा ल्याएका छन्।
बिहीबार साँझ दाजुभाइले संयुक्त रूपमा रिबन काटेर क्याफ्टेरियाको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उनीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना दिँदै ग्राहकको रुचि र आवश्यकता अनुसार सेवा विस्तार गर्न सुझाव दिएका थिए। रोजगारीका लागि सन् २००८ मा कतार आएका फैजलले सुरुवाती दिनमा विभिन्न चुनौती सामना गर्नुपरेको बताए।
श्रमिकका रूपमा काम गर्नेदेखि ड्राइभिङ, क्लिनिङलगायतका काम गर्दै करिब छ वर्षसम्म सङ्घर्ष गरेपछि सन् २०१४ मा भाइलाई पनि कतार ल्याएका थिए। निरन्तर मेहनत र अनुभवका आधारमा व्यवसायमा अघि बढेका उनले अहिले रियल स्टेटसहित विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन्।
कतारका विभिन्न स्थानमा सञ्चालनमा रहेका व्यवसायलाई विस्तार गर्दै नयाँ क्षेत्रमा प्रवेश गरिएको हो। पारिवारिक रूपमा सुरु भएको व्यवसायलाई दाजुभाइले निरन्तरता दिँदै नयाँ अवसर सिर्जना गर्ने प्रयास गरिरहेका छन्।

सुन्धारा क्याफ्टेरियामा नेपाली खानाका विभिन्न परिकारसँगै ढिँडो, समोसा, चिया, स्यान्डबिच तथा अन्य स्न्याक उपलब्ध हुनेछन्। ग्राहकलाई स्वादिलो, गुणस्तरीय र सुलभ मूल्यमा खाना उपलब्ध गराउने सञ्चालकको योजना छ।
क्याफ्टेरियामा खाना खान आउने ग्राहकलाई निःशुल्क पिउने पानी उपलब्ध गराउने घोषणा समेत गरिएको छ। व्यवसायले करिब नौ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । लामो समय कतारमा रहेर व्यवसाय गर्दै आएका फैजलले नेपालमा समेत सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन्।
हरिनगर गाउँपालिकाको कार्यालय निर्माणका लागि आफ्नो जमिन उपलब्ध गराएको उनले जानकारी दिए। नयाँ क्याफ्टेरियालाई नेपाली स्वाद, उचित मूल्य र गुणस्तरीय सेवाका माध्यमबाट ग्राहकको विश्वास जित्ने गरी अघि बढाउने सञ्चालकको प्रतिबद्धता छ।
प्लाजा मलमा व्यावसायिक गतिविधि विस्तार भइरहेका बेला सुन्धारा क्याफ्टेरियाको सञ्चालनले नेपाली खानाका पारखीका लागि थप विकल्प सिर्जना गरेको छ।