
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन् । उनले यस्तो प्रक्रिया अघि बढे आफू मूकदर्शक भएर नबस्ने स्पष्ट चेतावनी दिएका छन् ।
मंगलबार सार्वजनिक अपिलमार्फत देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशन पार्टीको हितविपरीत रहेको दाबी गर्दै त्यसमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनका अनुसार पार्टीको विधि, विधान, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत एकपक्षीय रूपमा महाधिवेशन अघि बढाउन खोजिएको छ, जसले कांग्रेसलाई कमजोर बनाउने जोखिम बढाएको छ ।
देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम निर्णय नआउँदै प्रक्रिया अघि बढाउनु कानुनी र संवैधानिक दृष्टिले उपयुक्त नहुने बताएका छन् । पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको सन्दर्भले समेत यस विषयमा गम्भीर कानुनी प्रश्न उठेको उनको भनाइ छ ।
उनले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्तिले संगठनलाई थप कमजोर बनाउने चेतावनी दिएका छन् । साथै, विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने स्पष्ट जवाफ अझै नआएको पनि उनले उल्लेख गरेका छन् ।
देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको स्पष्ट पार्दै पार्टी र राज्यले आवश्यक ठानेसम्म अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन् । उनले १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औं महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको जिकिर गरेका छन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उनले एकपक्षीय ढंगले महाधिवेशन अघि बढाइए त्यसको प्रतिवाद गर्ने संकेत गरेका छन् ।
