
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । नेताहरूका अनुसार वडास्तरमा अधिवेशनको रौनक छ । तर पार्टीका केही शीर्ष र पूराना नेताहरू भने अझै पनि विशेष महाधिवेशनको आधिकारिता विवादमै अल्झिरहेका छन् ।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशन प्रतिनिधि छान्न शनिबारबाट वडा अधिवेशन प्रारम्भ भएको हो ।
शनिबार सभापति थापा आफ्नो क्रियाशिल सदस्यता रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका वडा अधिवेशनको उद्घाटनमा सक्रिय रहे ।
त्यसक्रममा उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने दोहोर्याए । सभापति थापाले देशभर वडा तहबाटै कांग्रेसको ऐतिहासिक लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको भन्दै गाउँ, नगर र वडा (वडामा नयाँ उत्साह र ऊर्जा छाएको बताए । पार्टीको ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुट्न उनले सबै नेतालाई आह्वान गरे । थपाले आफूहरूबाट भएको कमजोरी भए सच्याएर अघि बढ्ने संकल्प गरे ।
‘हामीले अधिवेशनबाट पनि संकल्पहरू गर्नेछौँ,’ उनले भने, ‘ती विगत जसलाई हामीले सधैँ सम्झनुपर्नेछ, त्यसलाई जोगाउनेछौँ । नयाँ पुस्ताले नयाँ आकांक्षा राखेको छ । समाजमा एउटा छटपटी छ । तीव्र विकासको चाहना छ । ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने, यो क्षमता राख्ने नेपाली कांग्रेस बनाएर हामी अधिवेशनबाट लिएर आउनेछौँ ।’
समयको माग सँगसँगै संविधानमा कतिपय कुराहरू बदल्नु पर्ने भन्दै उनले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने नभई थप विस्तार गर्ने साहस र त्यो स्पष्टता यो महाधिवेशनबाट आउने दाबी गरे । उनले पार्टीको ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुट्न आह्वान गरेका हुन् ।
अर्थात्, वडा अधिवेशन सुरु हुँदै गर्दा दुई खाले दृउश्य देखिए । एकाथरी नेता कार्यकर्ता उत्साहकासाथ अधिवेशनमा होमिए । अर्काथरी कांग्रेसकाका केही पुराना नेताहरू भने मौन रहे ।
देउवासहित पूर्णबहादुर खड्का, डा शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधी लगायतका नेताहरू भने अझै विशेष महाधिवेशनको आधिकारिता विवादमै अल्झिएर रहेका छन् । यो पक्षधर भने अधिवेशनमा सहभागी भएन ।
पुराना केही नेताहरूको असन्तुष्टिकैबीच असोज ३ र ४ गते देशभरका वडा अधिवेशन धमाधम सुरु भएको हो ।
शनिबार देशभरका ३५ वटा जिल्लाको वडा अधिवेशन हुँदा अधिकांश वडा सर्वसम्मत सम्पन्न भएको स्थानीय नेताहरूले बताएका छन् ।
शनिबार अधिवेशन थालेर विवाद भएका केही वडाहरूको अधिवेशन आइतबार गर्ने तयारी रहेको भुगोलमा क्रियाशील रहेका नेताहरूले बताएका छन् । शनिबार नभएका ३९ जिल्लाका वडा अधिवेशन आइतबार हुने नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको अधिवेशन भने कांग्रेसले तत्कालका लागी स्थगन गरेको छ ।
अडिग देउवा
शनिवार र आइतबार अधिवेशनमा भाग नलिएका नेताहरू असोज १५ गते अर्को पक्षबाट वडा अधिवेशन गर्ने तयारीमा जुटेका छन् ।
डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समितिले मंसिरमा १५ औं महाधिवेशन गर्नेगरी असोज १५ मा वडा अधिवेशन तोकेको थियो । यद्यपि आधिकारीकरूपमा महाधिवेशन भइसकेपछि गरिने समानान्तर महाधिवेशनको कुनै अर्थ नहुने कांग्रेस संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन् ।
विशेष महाधिवेशनको खिलापमा रहेका देउवा पक्षका अधिकांश नेताहरूले समेत गगनथापलाई साथ दिएर पार्टी महाधिवेशनमा होमिइसकेका छन् । महाधिवेशनमा सहभागी नभएका वा प्राविधिक कारण छुटेका नेताहरूका एउटा बलियो अवसर गुमेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले बताईन् ।
सबै नेताहरूलाई महाधिवेशनको प्रक्रियामा भाग लिन पार्टी सभापति गगन थापाले सार्वजनिक आब्हान गरेका छन् ।
१४औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका नेता शेखर कोइराला र उनलाई पराजित गर्दै दोस्रो पटक सभापति बनेका देउवा अहिले एउटै मञ्चमा देखिएका छन् ।
यद्यपि कोइराला र पूर्णबहादुर दुबै नेताले विवादीत कुनै महाधिवेशनमा भाग नलिने बताएका छन् । देउवा र उनी निकटमा नेताहरूले भने सभापति गगन थापा नेतृत्वको कांग्रेसले गरेको महाधिवेशन प्रक्रियामा भाग नलिई १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले तय गरेको असोज १५ को वडा अधिवेशनमा भाग लिन सार्वजनीक आब्हान गरेका छन् ।
देउवा समूहको असन्तुष्टिका बीच प्रारम्भ भएको कांग्रेसले महाधिवेशन प्रक्रियामा देउवा पक्षमा अधिकांश प्रभावशाली नेताहरू सहभागी छन् । देउवाको साथ छाडेका ती नेताहरू पनि अहिले संस्थापन इतर समुहका बाँकी नेताहरूलाई कन्भीन्स गर्न लागेका नेता मीन विश्वकर्माले बताए ।
‘हामीले शेरबहादुर देउवालाई सभापति मान्दै आएपनि १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन उहाँको सभापति पदलाई सर्वमान्य नेताकोरूपमा परिणत गराउने प्रयासमा छौं,’ उनले भने ।
पार्टीलाई एक ढिक्का बनाउन र एकताको महाधिवेशनका लागि शेरबहादुर देउवा, शेखर कोइराला, पूर्णबहादुर खड्कालगायत सबै शीर्ष नेताहरूलाई महाधिवेशनमा भाग लिन आब्हान गरिसकेको उनको भनाई छ ।
देउवा पक्षका कतिपय नेताहरूको वडामा पनि शनिबारबाट सुरु भएको अधिवेशन प्रभावित हुन पुगेको छ ।
पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवाद देखिएको छ ।
डडेलधुराका उपसभापति डिल्लीराज जोशीले एक अपिल जारी गर्दै पार्टीको एकताको आब्हान गर्दै तत्काल महाधिवेशनको प्रक्रिया नथाल्न वडाहरूलाई आग्रह गरेका छन् । तर केन्द्रीय सदस्य नैनसिंह महरले वडा अधिवेशन नरोकिने बताए । अन्य क्षेत्रमा फट्टफुट्ट बाहेक अधिकांश वडा कार्यसमितिले अधिवेशन सम्पन्न गर्ने चरणमा छन् ।
अधिवेशनमा भाग नलिएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइरालाका क्षेत्रमा समेत अधिवेशन नरोकिने भएको छ । नेता कोइरालाको क्षेत्र मोरङ–६ को वडा नम्बर ६ मा क्रियाशील सदस्यता नै पुगिनसकेका कारण केही समस्या भएको बाहेक अन्य वडा अधिवेशन आइतबार हुने तयारी भएको स्थानीय नेताहरू बताउँछन् । तर डा. कोइरालासहित नागेश कोइराला, केदार कार्कीलगायत मोरङका केही नेताहरूले अधिवेशनमा भाग नलिने भएको छन् । कोइरालाले यस अघिनै पार्टीमा पूर्ण एकता नभएसम्म कुनै समुहले गरेको माहाधिवेशनमा भाग नलिने बताइसकेका छन् ।
उता पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतको वडा अधिवेशन नरोकिएको नेता मोतिराज पौडेलले जानकारी दिए । सबै वडाहरूको अधिवेशन धमाधम भइरहेको र आइतबार अधिकांशले सम्पन्न गर्ने चरणमा रहेको उनले बताए । काठमाडौंका शीर्ष नेता प्रकाशमान सिंहको क्षेत्रमा समेत वडा अधिवेशन रोकिएन । सिंहको क्षेत्रमा शनिबार नै २ वटा वडा अधिवेशन भए भने बाँकी वडाको अधिवेशन आइतबार हुने स्थानीय नेता प्रविण ओझाले बताए । कृष्ण सिटौलाको क्षेत्र झापा, विमलेन्द्र निधीको क्षेत्र जनकपुरसहित अधिवेशनमा भाग नलिएका अधिकांश नेताहरूका क्षेत्र र वडाहरूमा धमाधम अधिवेशन भइरहेको नेपाली कांग्रेसले जनाएको छ ।