२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कांग्रेस विभाजनको डिलमा पुगेको छ, रोक्न प्रयासरत छौँ : पूर्णबहादुर खड्का

Nada
२०८३ असोज ४ गते ११:३८
Shares
कांग्रेस विभाजनको डिलमा पुगेको छ, रोक्न प्रयासरत छौँ : पूर्णबहादुर खड्का

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।

ncell

खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ! तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’

पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा कुनै पनि पक्षमा नखुलेका नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् ।

खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् ।

‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ,’ खड्काले भनेका छन्, ‘यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहन्छु ।’

महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताए ।

विद्यमान राजनीतिक गम्भीरतालाई ख्याल गर्दै पूर्वकार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतसँग विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाइदिन आग्रह गरेका छन् । उक्त मुद्दालाई अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्दै उनले अदालतको अन्तिम फैसला आफूहरूलाई पूर्ण रूपमा स्वीकार्य हुने समेत स्पष्ट पारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर