
दोहा, कतार : सर्लाही प्रवासी सेवा समाज कतारको १२औं अधिवेशन तथा १८औं स्थापना दिवसबाट बाबुलाल महतोको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सनैया प्लाजा मलस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बाबुराम थापा, द्वितीय उपाध्यक्षमा सन्तोष राना, महासचिवमा रमेश शाह, उपमहासचिवमा प्रमोद यादव, सचिवमा गिरीराज घिमिरे, कोषाध्यक्षमा किशन जर्गा मगर र सह कोषाध्यक्षमा प्रमोदकुमार महरा चयन भएका छन् । सदस्यमा यादव मैनाली, रुपेश कुशवाहा, मेग राज बलाम्पाकी मगर, जलबहादुर खपाङ्गी मगर, श्याम राउत, मुकेशकुमार महतो र दीपेन्द्र महतो रहेका छन् ।
निर्वाचन समितिका संयोजक जिया बाबु खानले नवनिर्वाचित अध्यक्ष महतोसहित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । अधिवेशनका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत, संस्थागत तथा देशको प्रतिष्ठालाई ध्यानमा राख्दै जिम्मेवार र संयमित बन्न आग्रह गरे । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिने विषय प्रमाण र तथ्यमा आधारित हुनुपर्ने बताउँदै संस्थागत समस्या संवाद र आपसी समन्वयबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
पन्थीले कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा जिल्ला तथा सामाजिक संस्थाले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले संस्थालाई नेतृत्व प्रदान गरेको अघिल्लो कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ नेतृत्वले विगतका अनुभवलाई आत्मसात् गर्दै संस्थालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न सामाजिक तथा वैचारिक संस्थाका प्रतिनिधि, मधेस प्रदेश समन्वय परिषद् कतारका महासचिव इसिलाल पण्डित, कतारमा रहेका सर्लाहीवासी नेपालीलगायतको सहभागिता थियो । सो अवसरमा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै केशव कार्की र प्रमुख अतिथि पन्थीलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । अधिवेशनको खुल्ला सत्रको समापन सभाध्यक्ष प्रकाश आले मगरले गरेका थिए ।