२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

एनसिसी कतारले लामो समयदेखि परिवारबाट टाढा रहेका नेपाली श्रमिकलाई परिवारसँग ‘स्नेह मिलन’ गराउने

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ११ गते २०:०३
Shares
एनसिसी कतारले लामो समयदेखि परिवारबाट टाढा रहेका नेपाली श्रमिकलाई परिवारसँग ‘स्नेह मिलन’ गराउने

दोहा, कतार : कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर न्यून तलबमा कार्यरत नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन २०२७ सिजन १’ अभियान सञ्चालन गरिने भएको छ । एनआरएनए एनसिसी कतारको आयोजनामा भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन तथा क्युएफएम रेडियो नेटवर्कको सहकार्यमा सञ्चालन हुने अभियानअन्तर्गत १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याइने भएको हो ।

ncell

शनिबार साँझ आयोजित बिजनेस मिटअपमा अभियानबारे जानकारी दिँदै एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले नजिकिँदै गरेको दीपावली भित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । परिवारका सदस्यलाई कतार ल्याएपछि विमानस्थल स्वागत, आवतजावत हवाई टिकट, तारे होटेलमा बसोबास तथा कतार भ्रमणको व्यवस्थासहित पुनः विमानस्थलसम्म पुर्‍याउने व्यवस्था गरिने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाली राजदूतावासकी द्वितीय सचिव स्मारिका सुवेदीले परिवारसँग छोटो समयका लागि भए पनि पुनर्मिलन गराउने अवसर आर्थिक रूपमा कठिन अवस्थामा रहेका श्रमिकका लागि अर्थपूर्ण हुने बताइन् । उनले ‘स्नेह मिलन’ले नेपाली समुदाय र व्यवसायी क्षेत्रलाई सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वको भावनासँग जोड्ने विश्वास व्यक्त गरिन् ।

एनआरएनए आइसिसीका सचिव पदम गिरीले आफू एनसिसी कतारको अध्यक्ष हुँदा भिक्टोरिया गोल्ड एन्ड डायमन्डका सञ्चालकसँग अभियानको प्रस्ताव अघि बढाएको स्मरण गर्दै अहिले कार्यान्वयनको चरणमा पुगेकोमा खुसी व्यक्त गरे । एनआरएनए आइसिसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले अभियानले लामो समयदेखि परिवारबाट टाढा रहेका नेपालीलाई पारिवारिक सम्बन्धसँग जोड्ने काम गर्ने बताए । उनले नेपालमा हालै आएको बाढीबाट प्रभावितका लागि भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैसलले गरेको १० लाख रुपैयाँ सहयोगप्रति पनि आभार व्यक्त गरे ।

भिक्टोरिया ज्वेलर्सका प्रतिनिधि रोशन अर्यालले कम्पनीले व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा योगदान गर्दै आएको बताए । भिक्टोरियाका करिब ७० प्रतिशत ग्राहक नेपाली रहेको र दुई सयभन्दा बढी नेपालीले रोजगारी पाइरहेको उल्लेख गर्दै उनले समुदायप्रतिको जिम्मेवारीअनुसार विपद् तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । नेपालका दुर्गम क्षेत्रका समस्याग्रस्त विद्यालयको पुनर्निर्माण तथा सहयोगका लागि ६० लाख रुपैयाँभन्दा बढी योगदान गर्ने योजना रहेको पनि उनले बताए ।

अभियान सञ्चालनका लागि एनआरएनए एनसिसी कतार, भिक्टोरिया गोल्ड एन्ड डायमन्ड्स र क्यूएफएम रेडियो नेटवर्कबिच त्रिपक्षीय सम्झौता भइसकेको आयोजकले जनाएको छ । क्यूएफएमका प्रमुख कार्यकारी अधिकृत अनवर हुसेनले रेडियोले यसअघि मलयाली समुदायका परिवारलाई पुनर्मिलन गराउने ‘फर माई लभ’ अभियान सञ्चालन गरेको र सोही अभियानबाट प्रेरित भएर नेपाली समुदायका लागि ‘स्नेह मिलन’ सुरु गर्न लागिएको बताए ।

एनआरएनए एनसिसी कतारले अभियानका लागि योग्य परिवारको पहिचान गर्नेछ । लामो समयदेखि कतारमा कार्यरत तथा आर्थिक अवस्थाका कारण परिवारलाई कतार ल्याउन नसकेका श्रमिकका परिवारलाई प्राथमिकतामा राखिने आयोजकले जनाएको छ । योग्य परिवारको नाम तथा सुझाव दिन समुदायलाई आग्रह गर्दै छिट्टै पत्रकार सम्मेलन र थप सूचना प्रकाशन गरी जानकारी दिइने बताइयो । आयोजकका अनुसार अभियानलाई व्यावसायिक कार्यक्रमभन्दा पारिवारिक पुनर्मिलन र सामाजिक उत्तरदायित्वमा केन्द्रित पहलका रूपमा अघि बढाइनेछ ।

मिटअपमा क्यूएफएमका प्रमुख कार्यकारी अधिकृत अनवर हुसेन, भिक्टोरिया गोल्ड एन्ड डायमन्ड्सका सञ्चालक मोहम्मद फैसल, हिमालयन एयरलाइन्सका कतार प्रमुख मनीष कोइराला, नेपाली व्यवसायी संघ कतारका उपाध्यक्ष राज रेग्मी, महासचिव शंकर न्यौपाने सहित व्यवसायी तथा सामाजिक अगुवाको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर