
दोहा, कतार : तमु (गुरुङ) समाज, कतारको ११औं कार्यकालको वार्षिक साधारण सभा–२०२६ शुक्रवार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष चन्द्रप्रसाद गुरुङ ‘दिनेश’को अध्यक्षतामा भएको सभामा प्रमुख संरक्षक बुधबल गुरुङ प्रमुख अतिथि रहेका थिए । सभामा समाजका संरक्षक, सल्लाहकार, मानार्थ सदस्य, विभागीय प्रमुख, समितिका प्रतिनिधि, कलाकार, खेलाडी तथा समुदायका सदस्यहरूको सहभागिता थियो ।
कार्यक्रममा प्रथम उपाध्यक्ष ओमराज गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यवाहक महासचिव दुर्गा गुरुङ ‘डिबी’ले सांगठनिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष चन्द्रप्रकाश गुरुङ ‘सिपी’ले आर्थिक प्रतिवेदन र बचत संयोजक प्रकाश गुरुङले बचतसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । सभाले गत एक वर्षमा समाजबाट भएका सामाजिक, सांस्कृतिक, मानवीय तथा संस्थागत गतिविधिको समीक्षा गर्दै गरिएको थियो । सहभागी वक्ताहरूले तमु भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षणसँगै संस्थागत एकता र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
सभाका अवसरमा दोहा फेसन समिट–२०२६ मा सहभागी हुन नेपालबाट कतार आएकी सोन्या स्टाइलिसकी प्रमुख कार्यकारी अधिकृत तथा फेसन डिजाइनर सोन्या गुरुङलाई क्रमु (पछ्यौरी) र सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै, मोती जयन्ती–२०८३ का अवसरमा आयोजित विश्वव्यापी गजल प्रतियोगितामा प्रथम भएका समाजका सदस्य तथा साहित्यकार पूर्ण कान्छा गुरुङलाई सम्मान गरिएको थियो। उनले कार्यक्रममा गजलसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङले शुभकामना मन्तव्य राख्दै समाजको आगामी यात्रा थप सफल, सुदृढ तथा उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे । उनले समाजका गतिविधिलाई निरन्तरता दिँदै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । सभाको समापन गर्दै अध्यक्षले संस्थाका गतिविधिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समाजलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण डिबीसहित सचिव सुजन गुरुङ र महिला सचिव रश्मि गुरुङले गरेका थिए ।