
दोहा, कतार : म्याग्दीमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले राहत तथा उद्धारका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको मोनाको आकस्मिक बैठकले जिल्ला प्रशासन कार्यालय म्याग्दीसँग समन्वय गरी प्रभावित परिवारलाई लत्ताकपडा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने र विस्थापितका लागि अस्थायी सुरक्षित बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
मोनाले राहत तथा पुनः स्थापनाका लागि आफ्ना विश्वभरका शाखा, सदस्य तथा शुभेच्छुकहरूलाई सहयोग संकलन अभियानमा सहभागी हुन आह्वान गर्दै संकलित रकम पारदर्शी रूपमा वास्तविक पीडितसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ। यसअघि रसुवाको भोटेकोसी बाढीपीडितका लागि संकलित सहयोग रकम भने तत्काल हस्तान्तरण नगरी आगामी बैठकबाट निर्णय गरिने मोनाले स्पष्ट पारेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको पुष्टि गरेको छ। प्रशासनका अनुसार बाढी-पहिरोमा परी अन्नपूर्ण गाउँपालिका-३ की ७५ वर्षीया शीलकुमारी पाईजा र ५४ वर्षीया योगमाया पाईजा, अन्नपूर्ण गाउँपालिका-८ का १९ वर्षीय सविन गर्बुजा, मालिका गाउँपालिका-३ का ३१ वर्षीय चिरन पुन र २८ वर्षीय देव बहादुर पुन तथा अन्नपूर्ण गाउँपालिका-६ की ५ वर्षीया जेनी पुर्जाको मृत्यु भएको छ। यस्तै अन्नपूर्ण गाउँपालिका-८ का २१ वर्षीय मनोज गर्बुजा, बेनी नगरपालिका-३ की कुमारी वि.क. र अन्नपूर्ण गाउँपालिका-६ का ७५ वर्षीय ओम बहादुर तिलिजा बेपत्ता रहेका छन् ।
लगातारको वर्षाले बेनी-बागलुङ सडक खण्ड बाहेक जिल्लाका अन्य सबै सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। मौसममा सुधार आएपछि अवरुद्ध सडक सञ्जाल खुलाउने प्रयास भइरहेको छ। सडक सञ्जाल विच्छेद भएपछि जोखिममा परेका अन्नपूर्ण गाउँपालिका-५ सिख पाउद्वार क्षेत्रका ७८ जना नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त राहत सामग्री अन्नपूर्ण गाउँपालिका-६ घारमा पुर्याएर वितरणको व्यवस्था मिलाइएको छ ।
बाढी र पहिरोका कारण अवरुद्ध बनेको विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ भने सञ्चार सेवा सामान्य रूपमा सञ्चालनमा आइसकेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।