
काठमाडौं : नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै नेतृत्व चयनमा सहमति र एकताको वातावरण बनाउन पार्टी नेतृत्व सक्रिय रहेको बताएका छन् ।
प्रवक्ता चालिसेले सभापति गगन थापाको नेतृत्वलाई लिएर अहिलेसम्म कुनै पनि पक्षबाट चुनौती नआएको स्पष्ट पारे । उनले भने, ‘अहिलेसम्म वर्तमान सभापति गगन थापालाई कसैले चुनौती दिएको अवस्था छैन ।’
नेतृत्व चयनका विषयमा अहिलेसम्म चुनौती प्रस्तुत नभएकाले सर्वसम्मत नेतृत्व चयनको सम्भावना बलियो रहेको चालिसेको बुझाइ छ ।
उनका अनुसार कांग्रेसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सकेसम्म सहमतिमै नेतृत्व टुंगो लगाउने नीति लिएको छ ।
‘हामी सकभर सर्वसम्मत नेतृत्व चयन गर्न लाग्छौँ । यदि त्यो सम्भव भएन भने निर्वाचनको लोकतान्त्रिक प्रक्रिया त छँदै छ, त्यही बाटोबाट नेतृत्व चयन हुन्छ’, उनले भने ।