२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कांग्रेसको १५औं महाधिवेशन आज, साढे ७ हजार प्रतिनिधिले छान्दै नयाँ नेतृत्व

Nada
२०८३ असोज १८ गते ०६:३०
Shares
कांग्रेसको १५औं महाधिवेशन आज, साढे ७ हजार प्रतिनिधिले छान्दै नयाँ नेतृत्व

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आज उद्घाटन हुँदैछ । पार्टीको नीति र नेतृत्व फेर्दै विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वको मुख्य जिम्मेवारी नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व छान्ने थियो । सोही जिम्मेवारी पूरा गर्दै १५औं महाधिवेशन सम्पन्न गर्ने चरणमा रहेको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बताए ।

ncell

बिपी कोइरालाले नागरिकको अधिकार स्थापित गर्न पहिलो पटक आह्वान गरेको भूमि खुला मञ्चमा महाधिवेशनको उद्घाटन हुँदैछ । पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने उद्घोषसहित ५७ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत पुस मसान्तमा विशेष महाधिवेशन गरेको थियो । त्यसको नेतृत्व तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले गरेका थिए । अघिल्लो मंसिरमै हुनुपर्ने नियमित महाधिवेशन तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले वैशाखमा पुर्‍याउने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले विद्रोह गरेका थिए । उनीहरूको विद्रोहले पार्टीको आन्तरिक संरचना नै परिवर्तन गरिदियो । 

सोही जगलाई बलियो बनाउने यो महाधिवेशनको मुख्य नीति रहेको छ । 

‘विशेष महाधिवेशनले ल्याएको परिवर्तन, पार्टीको नीति, नेतृत्व र विचारलाई संस्थागत गर्ने १५औं नियमित महाधिवेशनको मुल ध्यय हुनेछ,’ महामन्त्री घिमिरेले भने, ‘यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउँछ ।’ 

महाधिवेशनमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिनेछ । सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने छन् । अबको राजनीति पदका लागि होइन परिणामका लागि र शासनका लागि होइन सुशासनका लागि हुनुपर्छ भन्ने नीति कांग्रेसले तय गर्ने नेताहरूले बताएका छन् ।

पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटन गर्न आग्रह गरेपनि देउवा नआउने भएपछि महाधिवेशनको उद्घाटन सभापति गगन थापाले गर्नेछन् । गत असोज ३ गतेबाट वडा अधिवेशन थालेर १३ गते सम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरीसकेसँगै महाधिवेशनका लागि मतदाताको सूची समेत तयार भइरहेको छ । वडा, गाउँ÷नगर हुँदै प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशनबाट करिब साढे ७ हजार प्रतिनिधि छनोट भएर छन् । कांग्रेसले यसपटक विधानमै युवा, महिला, पेशागत र श्रमितकलाई समेत समेटेको छ । उक्त व्यवस्थाले युवा, विभिन्न पेशागत व्यक्तिहरू र श्रमिकको समेत पार्टी संरचनामा अनिवार्य सहभागिता हुने भएपछि उत्साह थपिएको नेताहरूले दाबी गरेका छन् । विधानको नयाँ व्यवस्थाले करिव ४० हजार भन्दा बढी युवाहरू पार्टी संरचनामा आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।

पार्टीको आधिकारिक लाइनले महाधिवेशनको भव्य उद्घाटन गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिमा एउटा सन्देश दिन तयारीमा छन् । उद्घाटन सत्रलाई सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रा रहेको छ भने अन्तर्राष्ट्रिय पाहुनाहरू समेत शुभकामना दिने पार्टी प्रवक्ता चालिसेले बताए । उता पूर्वसभापति देउवा पक्षले १५ असोजदेखि सुरु गरेको वडा अधिवेशन धमाधम भइरहेको बताएकमो छ । विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दालाई लिएर पार्टीमा बिवाद बढ्दै जाँदा फुटको अस्था आएपनि अहिले नै दुईवटा दल बनाएको छैन । 

तर नेताहरूले नै पार्टी दुईवटा भएको दाबी गरेका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता नदिन माग गर्दै नेताहरू सर्वोच्च आदलतमा पुगेपनि निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । सोही आदेशको अन्तिम पुनरावलोकनको निवेदनमा भने सर्वोच्चले निस्सा निस्सा दिएपछि देउवा पक्षले त्यसैलाई हतियार बनाएर समानान्तर महाधिवेशनको अभियान चलाएको हो । तर पार्टीका अधिकांश नेता कार्यकर्ताहरू आधिकारिक लाइनमा आएर तल्लो तहको अधिवेशनमा भाग लिँदै महाधिवेशन सफल बनाउन लागेका छन् ।

देउवा पक्षको अधिवेशनमा भाग लिनेको संख्या न्यून छ । यद्यपि देउवा समुहका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा वडादेखि नै संलग्न भएका पार्टीका नेता–कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसले भने यो महाधिवेशनलाई आफ्नो नीति र नेतृत्व परिवर्तनका लागि गरिएको विशेष महाधिवेशनलाई संस्थागत गर्ने महाधिवेशनकारूपमा लिएको दाबी गरेको छ । महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको चालिसेको भनाइ छ । यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउने उनले बताए । 

महाधिवेशनबाट नेतृत्व चयनका लागि १९ गते १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने छ । पार्टीको केन्द्रीय निवार्चन समितिले महाधिवेशन प्रतिनिधिहरूका लागि ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क तोकेको छ । पार्टीमा विधान परिमार्जन गरेर पदाधिकारी संख्या थप्ने विषयमा समेत बहस चलेको छ । यद्यपि महाधिवेशनको छलफल सत्रले विधानमा भएका कतिपय अस्पष्ट व्यवस्थालाई स्पष्ट पार्ने र मनोनयनमा जाने कांग्रेसले जनाएको छ । मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने पार्टी प्रवक्ता चालिसेले बताए ।  विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्ताव अनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशनको बन्दसत्रलाई रहने उनको भनाई छ ।

पार्टी नेतृत्वमा कहिले को आए ? 

नेपाली कांग्रेस स्थापनाको आठ दशक भयो । करिव असी वर्ष लामो समयमा कांग्रेसले विभिन्न राजनीतिक उतारचढावकाबीच १४ वटा महाधिवेशन गरेको छ । त्यस क्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेताले पार्टीको नेतृत्व सम्हालेको देखिन्छ ।  त्यस्तै महामन्त्रीका २८ जना भएका छन् ।  

पहिलो : २००३ माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो । सोही सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिईएको छ । उक्त सम्मेलनले सर्वसम्मतिमा नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषणा गर्‍यो । आचार्य नेपाल प्रजापरिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति बनेका थिए । विश्वेश्वरप्रसाद कोइराला उक्त कार्यसमितिको कार्यवाहक सभापति बनेका थिए ।  

दोस्रो : २००३ फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुर हडताल भएको थियो । हडतालको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए । उक्त मजदुर आन्दोलनको नेतृत्व गर्न बिपी कोइराला विराटनगर पुगे । फागुन २६ मा बिपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न २००३ चैत २७ र २८ मा जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन भयो । उक्त सम्मेलनमा कार्यकारी सभापतिका रूपमा मातृकाप्रसाद कोइरालालाई चयन गरिएको थियो । 

तेस्रो : २००५ फागुन १८ मा दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्‍यो । मातृकाप्रसाद कोइरालालाई नै सभापति बनाइयो। सभापतिका आकांक्षीमा गोपालप्रसाद भट्टराई पनि थिए ।

चौथो : २००६ चैत २७ मा भएको चौथो महाधिवेशन भारतमा भएको थियो । कोलकाताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरिएको थियो। सोही सम्मेलनले दलकानाम ‘नेपाली कांग्रेस’ राखेको थियो भने मातृकाप्रसाद कोइराला सभापति बनेका थिए ।

पाँचौं : २००९ जेठ १० देखि १२ सम्म पाँचौं महाधिवेशन जनकपुरमा भएको थियो। विवाद र तनावका बिच भएको मतदानमा सभापतिमा बिपी कोइराला नै विजयी भएका थिए ।

छैटौं : २०१२ माघमा कांग्रेसको छैटौं महाधिवेशन वीरगन्जमा भएको थियो । गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर राणा सभापतिमा चयन भए । २०१४ जेठमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विराटनगरमा भएको विशेष महाधिवेशनबाट बिपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बनेका थिए । 

सातौं : काठमाडौंको महाराजगन्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाखमा सातौं महाधिवेशन भयो । बिपीसँग भूपदेव राईले नेतृत्वमा पुग्न प्रतिस्पर्धा गरेका थिए । बिपी नै सभापतिमा निर्वाचित भए । २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेपछि प्रधानमन्त्री तथा पार्टी सभापति बिपीसहितका नेतालाई जेल हालेपछि  आठ महिनामै अर्को महाधिवेशन गर्नुपरेको थियो । भारत भ्रमणमा रहेका जेलबाहिर रहेका सुवर्ण शमशेरले सोही वर्षको माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन गरे । त्यही सम्मेलनले उनलाई कार्यवाहक सभापति चयन गर्‍यो । २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो । रिहा भएका बिपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।  

आठौं : बहुदलीय व्यवस्था लागु भएपछि २०४८ फागुनमा झापाको कलभडगुडीमा आठौं महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध भएका थिए ।

नवौं : २०५३ वैशाखमा कांग्रेसको नवौं महाधिवेशन काठमाडौंमा भएको थियो । चिरञ्जीवी वाग्ले र रामहरि जोशीलाई पछि पार्दै गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भएका थिए तर त्यस महाधिवेशनमा नेता गणेशमान सिंह सहभागी भएनन् ।

दशौं : २०५७ माघमा कांग्रेसको दसौं महाधिवेशन पोखरामा भयो। गिरिजाप्रसादसँग शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिए तर गिरिजाप्रसाद नै निर्वाचित भए । २०५९ सालमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो ।

एघारौंं : एघारौंं महाधिवेशन विभाजित अवस्थामा दुई कांग्रेसको अलगअलग भयो । २०६२ भदौमा सानेपामा भएको महाधिवेशनबाट नरहरि आचार्यलाई पछि पार्दै गिरिजाप्रसाद फेरि सभापति निर्वाचित भएका थिए भने नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापतिमा शेरबहादुर देउवा थिए । २०६४ असोजमा दुई कांग्रेस एक भए ।

बाह्रौं : २०६७ असोजमा कांग्रेस बाह्रौं महाधिवेशन काठमाडौंमा भएको थियो । शेरबहादुर देउवा र भीमबहादुर तामाङलाई पछि पार्दै सुशील कोइराला सभापतिमा निर्वाचित भए । तेह्रौं महाधिवेशनपूर्व नै सुशील कोइरालाको निधन भयो र कार्यवाहक सभापतिको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हाले ।

तेह्रौं : २०७२ फागुनमा कांग्रेसको तेह्रौं महाधिवेशन काठमाडौंमा नै भयो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबिच सभापतिमा प्रतिस्पर्धा भएको थियो । उनीहरू कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन् । पछि धेरै मत ल्याउने दुई नेताबिचको प्रतिस्पर्धामा पौडेललाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित भए । 

चौधौं : २०७८ मंसिरमा कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा भयो । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए। पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत नपाएपछि देउवा र शेखरबिचमा दोस्रो चरणमा प्रतिस्पर्धा भयो । देउवा सभापतिमा निर्वाचित भए ।

२०८२ भदौमा भएको जेनजी विद्रोहसँगै कांग्रेसमा विवाद तीव्र बन्न पुग्यो । तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग गरे । तत्कालीन संस्थापन पक्षबाट अस्वीकार गर्दा पनि थापा–शर्माको अगुवाईमा विशेष महाधिवेशन आयोजना भयो । सोही विशेष महाधिवेशनले देउवा नेतृत्व कार्यसमिति हटाएर थापाको नेतृत्वमा नयाँ समिति गठन गरेपछि पार्टीको विवाद थप पेचिलो बनेको थियो ।

सम्बन्धित खबर