
कपिलवस्तु : नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै कांग्रेस संसदीय दलका उपनेता तथा कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले मधेशी क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कपिलवस्तुमा लामो समयदेखि राजनीतिक सक्रियता कायम राख्दै आएका शाहले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित सहमहामन्त्री पदमा दाबी प्रस्तुत गर्न लागेका हुन् । कांग्रेसभित्र सक्रिय नेताका रूपमा परिचित शाह राष्ट्रिय राजनीतिमा समेत निरन्तर संलग्न रहँदै आएका छन् ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा देशका विभिन्न क्षेत्रमा नयाँ राजनीतिक शक्तिको प्रभाव देखिए पनि शाहले कपिलवस्तु–३ बाट निर्वाचित हुँदै आफ्नो क्षेत्रमा कांग्रेसको पकड कायम राखेका थिए । कपिलवस्तुका अन्य निर्वाचन क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए ।
पाँच पटक प्रतिनिधिसभा सदस्य निर्वाचित शाह कपिलवस्तुको पुरानो राजनीतिक परिवारसँग सम्बन्धित छन् । लामो संसदीय अनुभव भएका उनले प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
१५औं महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा थप जिम्मेवारी लिन खोजिरहेका शाहको सम्भावित उम्मेदवारीसँगै मधेशी क्लस्टरतर्फको सहमहामन्त्री पदको प्रतिस्पर्धा थप चर्चामा आएको छ ।
शाहको उम्मेदवारीलाई लिएर कांग्रेसका युवा नेता तथा कार्यकर्ताबीच समेत छलफल र सक्रियता बढ्न थालेको बताइएको छ । उम्मेदवारीसँगै शाहले पार्टी संगठन सुदृढीकरण, मधेसी समुदायको प्रतिनिधित्व तथा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने तयारी गरेका छन् ।