
दोहा, कतार : धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले सिद्धलेक गाउँपालिका–१ का रामहरि श्रेष्ठको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कतारको सनैयास्थित ग्रान्ड मलमा रहेको लालीगुराँस रेस्टुरेन्टमा शुक्रवार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा मिलन रानाभाट, द्वितीय उपाध्यक्षमा अनिता तामाङ, महासचिवमा अम्बरबहादुर गुरुङ, सचिवमा रमेश इटनी, कोषाध्यक्षमा विनोद गोले गुरुङ र सह कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन्।
सदस्यमा डम्बरबहादुर श्रेष्ठ ‘गणेश’, इन्दिरा परियार, सुजन तामाङ, प्रकाश भुजेल, कल्पना काप्री, सुरज रोका, सुरेन्द्र श्रेष्ठ र विकास मल्ल ठकुरी रहेका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले धादिङ सेवा समाज कतार कतारमा रहेका सम्पूर्ण धादिङेलीको साझा सामाजिक संस्था भएकाले सबैलाई समेटेर संस्थालाई अघि बढाउने बताए। संस्थाभित्र सहकार्य, एकता र पारदर्शितालाई प्राथमिकतामा राख्दै समाजको हितमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
अधिवेशनको खुला सत्र समाजका कार्यवाहक अध्यक्ष गौतम वाइबा तामाङको सभापतित्व तथा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा भएको थियो। विधिवत् उद्घाटनपछि सुरु भएको कार्यक्रममा समाजकी द्वितीय उपाध्यक्ष उषा रिमालले स्वागत मन्तव्य राखेकी थिइन् भने नृत्याङ्गना अस्मिता लामिछानेले नृत्यमार्फत स्वागत गरेकी थिइन्।
कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घसंस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधि, कलाकार, पत्रकार र धादिङेलीको उल्लेख्य सहभागिता थियो। अधिवेशनमा समाजले पछिल्लो दुई वर्षमा गरेका गतिविधि तथा कार्य प्रगति प्रस्तुत गरिएको थियो। आर्थिक प्रतिवेदनमा संस्थासँग सम्बन्धित बाँकी तथा बक्यौता रकमको विवरणसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले समाजले गर्दै आएका सामाजिक तथा मानवीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई थप गतिशील बनाएर सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्न सुझाव दिएका थिए।
कार्यक्रममा केही वक्ताले पछिल्लो पटक कतार भ्रमणमा आएका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भ्रमणसँग सम्बन्धित विषयमा जिज्ञासा तथा प्रश्नसमेत राखेका थिए। साथै, पछिल्लो समय भोटेकोसीमा आएको बाढीबाट धादिङ जिल्लामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितप्रति सहानुभूति प्रकट गरिएको थियो।
प्रमुख अतिथि पन्थीले धादिङ सेवा समाज र एनसीसी कतार बिचको सम्बन्ध थप सुमधुर बन्दै गएको बताए। अर्थमन्त्री डा. वाग्लेको कतार भ्रमणका क्रममा भएको भेटघाटलाई लिएर सामाजिक सञ्जालमा उठेका प्रश्नबारे स्पष्ट पार्दै उनले अर्थमन्त्रीको भ्रमणअघि नै आफूले साझा कार्यक्रमको प्रस्ताव गरे पनि व्यस्त कार्यतालिकाका कारण समय व्यवस्थापन हुन नसकेको बताए। प्रश्न उठाएपछि त्यसको जवाफ सुन्न नबसी वक्ता बाहिरिनु उचित अभ्यास नभएको उनको भनाइ थियो।
पन्थीले कतारमा सामाजिक सञ्जाल तथा टिकटकका लागि भिडियो बनाउने क्रममा कतारको कानुन उल्लङ्घन हुने गतिविधिप्रति सचेत रहन नेपाली समुदायलाई आग्रह गरे। कतारका सम्बन्धित निकायबाट यस्ता विषयमा पटक पटक सचेत गराउने गरिएको उल्लेख गर्दै उनले मनोरञ्जन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा कतारको कानुन र सामाजिक मर्यादालाई सम्मान गर्न आग्रह गरे।
समाजका महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेको खुला सत्रको समापन गर्दै सभापति तामाङले आर्थिक प्रतिवेदनमा देखिएको केही बक्यौता रकम समाजले आयोजना गरेका सांस्कृतिक कार्यक्रमसँग सम्बन्धित रहेको बताए । आफू लामो समय नेपालमा रहनुपरेकाले संस्थाको नियमित गतिविधिमा प्रत्यक्ष जोडिन नसकेको र केही समयअघि मात्र कतार फर्किएको उल्लेख गर्दै उनले बक्यौता रकम सङ्कलनका लागि पहल भइरहेको जानकारी दिए।
विगतमा संस्थाले सामाजिक क्षेत्रमा गरेका कामलाई निरन्तरता दिँदै कमी–कमजोरी सुधार गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए। समाजसँग सहकार्य गर्ने विभिन्न संस्था, कलाकार, पत्रकार तथा अतिथिलाई सम्मान गरिएको थियो।
केही समयअघि कतारमा श्रमिक सहयोग तथा बिमा कोषको आयोजनामा सञ्चालित महिला च्याम्पियनसिप कप–२०२६ को उपाधि नेपाली महिला भलिबल टोलीलाई जिताउन विशेष योगदान गरेकी खेलाडी एसिक सेन्चुरीलाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कतार बसाइ बिट मारेर नेपाल फर्कन लागेका समाजका सदस्य शङ्काराम तामाङलाई बिदाइसमेत गरिएको थियो। अधिवेशन उल्लेख्य सहभागिता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।