
क्वालालम्पुर : नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षक, महासमिति सदस्य तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष विनोदबहादुर थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिमध्येबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेपछि थापाले एसिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन, विचार तथा लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका थापालाई लामो राजनीतिक तथा सामाजिक अनुभव भएका नेताका रूपमा प्रस्तुत गरिएको छ । प्रवासी नेपाली समुदायसँगको उनको सम्बन्ध र संगठनात्मक अनुभवले पार्टीको केन्द्रीय तहमा प्रवासी कांग्रेसजनको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने समर्थकहरूको विश्वास छ ।
थापाको उम्मेदवारीलाई प्रवासमा रहेका कांग्रेसजनको आवाज, अधिकार, सहभागिता र प्रतिनिधित्वलाई पार्टीको मूलधारसँग थप जोड्ने अवसरका रूपमा लिइएको छ । विशेषगरी एसिया क्षेत्रसहित विश्वभर रहेका नेपाली कांग्रेस समर्थकका समस्या, अपेक्षा र सुझावलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउन उनको भूमिका महत्वपूर्ण हुने दाबी गरिएको छ ।
थापाको उम्मेदवारीप्रति समर्थन जनाउँदै कांग्रेसका नेता तथा शुभेच्छुकहरूले महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समितिका सदस्य तथा कांग्रेसजनलाई सहयोग र मतका लागि अपिल गरेका छन् ।
समर्थकहरूले थापालाई विजयी गराउन एसिया क्षेत्र तथा विश्वभर रहेका कांग्रेसजन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै, उनको उम्मेदवारीलाई प्रवासी नेपालीको राजनीतिक प्रतिनिधित्वलाई थप संस्थागत गर्ने अवसरका रूपमा लिन आग्रह गरिएको छ ।