
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औं महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन् ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए ।
‘कांग्रेसलाई पुनर्जीवन दिन्छौं, नेतृत्वमा पुस्तान्तरण गर्छौं । नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौं,’ उनले भने ।
महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याइने बताए । कांग्रेसले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउने उनको भनाइ छ ।
‘बिपी कोइरालाको सपना सार्थक बनाउनु छ । देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ उनले भने ।