
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो । खुलामञ्चमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मञ्च बनाउने प्रयास गरेको छ । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मञ्चमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कांग्रेसको एउटा समूह भने देखिएन ।
विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी १५औं महाधिवेशनले आगामी चार वर्षका लागि कांग्रेसमा नेता र नीति स्थापित गराउनेछ । महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ ।
निवर्तमान सभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि पटक–पटक निम्ता गर्दा पनि नआएको कांग्रेसले दाबी गरेको छ । सभापति थापाले पूर्वसभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दाबी गरे । देउवालाई लिनका लागि पार्टीका नेताहरू कतिपटक जाने र कसरी जाने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं । तर आउनुभएन । कतिपटक जाने हो, लिन कसरी जाने हो ?’
अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइरालाबाहेक कांग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे । सन्त नेता कृष्णप्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कांग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ । उनीसँगै कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला र गणेशमान सिंहका पुत्र डा. शशांक कोइराला र प्रकाशमान सिंहको सहभागिता नहुँदा कांग्रेसमा पूरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको फरक–फरक दृष्टिकोण देखिए पनि १५औं महाधिवेशनबाट मूल नेतृत्वमा गगनको विकल्पबारे सोचेको देखिएन । यद्यपि कांग्रेसका संस्थापक तीनै शीर्ष नेताको लिगेसी बोकेका नेताहरूले महाधिवेशन बहिष्कार गरेको स्पष्ट सन्देश दिएको छ । पार्टीका एक तहका नेताहरू कांग्रेसबाट साइड लागेका छन् । यसले कांग्रेसको १५औं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको पुष्टि भएको छ ।
विशेष महाधिवेशनबाट स्थापित नेतृत्वलाई अस्वीकार गर्दै आएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् । १५ गतेबाट वडा अधिवेशन सुरु गरेको यो समूहले मंसिरको तेस्रो हप्ता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । एउटै दलको साझा महाधिवेशन गर्न नसकेपछि पार्टी औपचारिक फुटमा पुगेको छ । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलले समेत जति बोलाउँदा पनि नआउने देउवालाई छाडेर अघि बढ्न सुझाव दिएका छन् । सभापति गगन थापाले पनि बिपी र गणेशमानले नागरिक स्वतन्त्रताको आवाज उठाएको खुलामञ्चमा पार्टीको महाधिवेशन उद्घाटन हुँदै गर्दा बिपी र गणेशमानको आत्मा आफ्ने पक्षसँग रहेको दाबी गर्दै नेताका छोराहरूको समेत खोजी गरे । आफ्नै पुर्खाले बनाएको र आफ्नो जीवन लगानी गरेको पार्टीको महाधिवेशन छाडेर अन्यत्र अल्मलिएको प्रति महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले गुनासो गरे ।
पार्टी सभापति थापाले भने कांग्रेसका पुराना नेताहरूले कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा स्पष्ट उत्तर दिनुपर्ने बताए । ‘केही साथीहरू छाडेर जानुभएको छ । उहाँहरूलाई कांग्रेसले छाडेको हो । यो पनि हामीले भन्नुपर्नेछ । यसको उत्तर अब दिनुपर्छ,’ थापाले प्रश्न गरे । नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने बताए । पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्नेमा उनको जोड छ ।
आइतबार प्रारम्भ भएको १५औं महाधिवेशनअन्तर्गत बन्द सत्र आज हुँदै छ । बन्द सत्र बिहान ९ बजेदेखि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । सोमबारको बन्द सत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक र समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, विधान मस्यौदा समितिको तर्फबाट विधान संशोधनको प्रतिवेदन प्रस्तुत हुनेछ । साथै आर्थिक प्रतिवेदन पनि भोलि नै प्रस्तुत गरिने प्रवक्ता चालिसेले बताए । प्रतिनिधिहरूलाई बिहान ८ बजे बन्द सत्रस्थलमा बोलाइएको छ ।
राष्ट्रियताको सवालमा साझा मञ्च बनाउने प्रयास
कांग्रेसले महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई राखेर साझा मञ्च बनाउने प्रयास गरेको छ । एउटै मञ्चमा बसेर कांग्रेस, कम्युनिस्ट, राजावादी र नयाँ राजनीतक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले भाषण गरे । नेताहरूको अभिव्यक्तिमा आपसी छेडकाखानी, आशंका, टिप्पणी, सहानुभूति, सुझाव र साझा एजेन्डा सबै परिकारको मिश्रण थियो । राष्ट्रियता र नागरिकलाई केन्द्रमा राखेर बोलेका अधिकांश नेताहरूले कांग्रेसको ऐतिहासिकतालाई स्मरण गरेका छन् ।
महाधिवेशनमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, एमालेका महासचिव शंकर पोखरेल, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले शुभकामना दिए । सोही क्रममा नेताहरूले वर्तमान लोकतान्त्रिक व्यवस्था जोगाउँदै राष्ट्र र नागरिकका पक्षमा काम गर्न सबै एक ठाउँमा रहेको यो मञ्चले सन्देश दिएका हुन् ।
उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खुला मञ्चमा आफ्नो पार्टीले १५औं महाधिवेशन गर्नुका कारण सुनाएका थिए । खुलामञ्चमा आइसकेपछि बिपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने भन्दै उनले राष्ट्रियताका सवालमा मतभेदलाई हटाएर अघि बढ्ने संकल्प यो महाधिवेशनले गरेर जाने बताए । खुलामञ्चले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिने बताए । ‘खुलामञ्चमा आइसकेपछि बिपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्नेछ,’ उनले भने, ‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ । खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो, खुलामञ्च ।’ यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रूपमा मात्रै नलिन आग्रह गर्दै उनले यसै भेलाबाट केही संकल्प गर्ने दाबी गरेका छन् ।
कांग्रेस महाधिवेशनलाई शुभकामना दिँदै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको ऐतिहासिक संघर्षपछि प्राप्त परिवर्तनको स्मरण गराए । सोही क्रममा सभापति लामिछानेले महाधिवेशनको मञ्चमा सबै पुराना राजनीतिक दलका नेताहरू भएकाले आफू मात्र प्रतिपक्षीको रूपमा उभिन पुगे पनि मुलुक र लोकतन्त्रका लागि सबै राजनीतिक दलहरूसँगै रहने सन्देश दिएका छन् । ‘यो मञ्चको प्रतिपक्ष म मात्र भएछु, मलाई एक्लो हुन मन पर्छ । तर मुलुक र लोकतन्त्रका लागि पार्टीहरू एक्लो हुँदैनन्,’ उनले भने । कांग्रेसको इतिहास उसको ठुलो शक्ति भएको भन्दै लामिछानेले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे । लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने उनको सुझाव छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यको खोजी गरे । महाधिवेशन सम्बोधनका क्रममा उनले लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रणालीको मर्यादा जोगाउन प्रमुख राजनीतिक दलहरू गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
महाधिवेशन उद्घाटन समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताए । ‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ । आज आएको देख्छु, निकै ठुलो जिम्मेवारी उहाँको काँधमा आएको छ ।’ उनले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गरे ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको बताए । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौं र हेर्यौं । नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन ।’ कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको बताए ।
पदाधिकारीमा प्रतिस्पर्धिको लर्को
१५ औँ महाधिवेशनमा वर्तमान सभापति गगनकुमार थापाकै पक्षमा पल्लाभारी देखिएको छ । अझै सर्वसहमतिमा सभापति बन्ने प्रयासमा थापा छन् । तर पूर्व सहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अरू कुनै नेताहरूले सभापतिको आकांक्षा राखेका छैनन् ।
त्यसबाहेक उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा प्रतिस्पर्धिहरूको लर्को लागेको छ । कांग्रेसको नयाँ विधानमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १७ जना पदाधिकारीको व्यवस्था छ । तर पार्टीको बैठकबाट पदाधिकारीको संख्या थप्ने प्रस्ताव बन्दसत्रमा ल्याउने तयारी रहेका प्रवक्ता देवराज चालिसेले बताए । विशेष महाधिवेशनबाट उपसभापतिमा शर्मा, पुष्पा भुसाल, महामन्त्रीमा पौडल र गुरुराज घिमिरे सोही पदमा दोहोरिने तयारीमा छन् ।
उपसभापतिका लागी पनि धेरैको नाम चर्चामा छ । त्यस्तै महामन्त्रीका लागी नैनसिंह महर, डा सुनिल शर्मा, उदयशमशेर राणा, देवराज चालिसे, जीवन परियार, डिना उपाध्याय, रामहरि खतिवडा, महेन्द्र यादव, प्रकाश स्नेही शंकर तिवारीलगायतले आकांक्षा राखेका छन् । महामन्त्री बन्ने आकांक्षीहरूको लर्को लागेपछि पार्टी नेतृत्वलाई टिम व्यवस्थापनमा समेत सकस पर्ने देखिएको छ । त्यस्तै सहमहामन्त्रीको लाईनमा प्रतिमा गौतम, मीन विश्वकर्मा, प्रदीप सुनुवा, टेकराज पौडेल, मनोजमणी आचार्य, सुरजराज काफ्लेसहित नेताहरूको दाबी छ । केन्द्रीय सदस्यका लागि यस पटक युवाहरू र क्लष्टरगतरूपमा सयौं नेताहरूले दाबी गरेका छन् ।