२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेलेरै बढे प्रचण्ड

ADV
भावना पाठक
२०८१ भदौ ३ गते ०६:५५
पेलेरै बढे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रले मातहतका कमिटीलाई निर्देशनात्मक सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार पार्टीपंक्तिमा सर्कूलर जारी गरेका हुन् । 

सर्कुलरमा अध्यक्ष प्रचण्डले स्थायी समितिमा राखेको धारणाहरु बुँदागत रुपमा राखिएको छ । वर्तमान परिस्थिति, भावी कार्यदिशा र कार्यक्रमहरु सर्कूलरमा उल्लेख छ । 

‘... पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टीको नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन सवै कमरेडहरुप्रति हार्दिक आग्रहसहित बैठक समापन गर्नुभयो’, सर्कूलरमा भनिएको छ । 

जुनसुकै बेला सडकमा जानुपर्ने हुन सक्ने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन समेत दिइएको छ । ‘... प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई ध्यानमा राख्नुपर्ने देखिन्छ’, सर्कूलरमा भनिएको छ । 

जनताको मुद्दा खोसिने आशंकाहरु रहेकाले वर्तमान सरकारका गतिविधिलाई पार्टीले नजिकबाट हेर्नुपर्ने अध्यक्ष प्रचण्डको निष्कर्ष सर्कुलरमा राखिएको छ । सर्कूलरमा राखिएको निर्णयहरु माओवादीभित्र नयाँ भने होइन । 

गत १५ साउनमा सम्पन्न पदाधिकारी बैठकबाटै यस्तो निष्कर्ष निकालिएको थियो । तर त्यसलाई पार्टीको निर्णय मानिएको थिएन । किनकि माओवादीले स्थायी समिति र केन्द्रीय कार्य समितिमा पनि ब्यापक छलफल गरेर निष्कर्षमा पुग्ने नीति लिएको थियो । 

९ वर्षपछि पहिलोपटक प्रमुख प्रतिपक्षी दल बनेको माओवादीले प्रदेश र जिल्ला तहका नेताहरुको समेत राय सुन्ने तयारी यसअघि थियो । तर पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले पार्टीभित्र ब्यापक छलफल गरेर प्रतिपक्षी कार्यक्रम तयार पार्ने निर्णय गरेको थियो । 

जसअनुसार भदौभित्रै केन्द्रीय कार्य समितिको बैठक राख्ने तयारी छ । तर स्थायी समिति बैठक सकिनासाथ अध्यक्ष प्रचण्डको आफ्नो धारणा मात्रै राखेर सर्कुलर जारी गरेका छन् । सर्कूलरमा राष्ट्रिय राजनीतिबारे पार्टीले लिनुपर्ने अडान मात्र समेटिएको छैन, पार्टी एकताबारे उभिन पनि निर्देशन गरिएको छ । 

यसरी हठात् सर्कूलर जारी गरिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । किनकि स्थायी समिति बैठकमा अनपेक्षित रुपले उपमहासचिव जनार्दन शर्माबाट १४ पृष्ठ लामो पत्र पेश भएको थियो । 

शर्माको पत्रमा अध्यक्ष प्रचण्डले नेतृत्व छोड्नुपर्ने निष्कर्ष समेटिएको छ । पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी लिएर प्रचण्डले अध्यक्ष छोड्नुपर्ने शर्माको निष्कर्ष थियो । अध्यक्ष छोड्न शर्माले प्रचण्डलाई तीन विकल्प दिएका थिए । 

तीन वटै विकल्पमा प्रचण्डले अध्यक्ष छोडेर मात्र पार्टी पुनर्निर्माण हुने शर्माको निष्कर्ष छ । शर्माको पत्रले पार्टीभित्रै ठूलै हलचल ल्याएको छ । तर प्रचण्डले स्थायी समिति बैठक समापन गर्दै शर्मासँग कुरा मिलिसकेको बताएका थिए । शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्ला अन्त्य भएको प्रचण्डले बताएका थिए । 

यसको अर्थ प्रचण्डले शर्मालाई पेलेर जाने बैठक समापनकै क्रममा गरेका थिए । आइतबार एक्लौटी सर्कूलर जारी गरेर प्रचण्डले जनार्दन शर्मालाई पेलेर जाने अनुमानलाई थप पुष्टि गरेका छन् ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise