२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो आस्था र निष्ठाको महान् पर्व छठ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक ३० गते ०९:३२
Shares
उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो आस्था र निष्ठाको महान् पर्व छठ

रौतहट : तपस्या, निष्ठा र सूर्य उपासनाको महापर्व छठ विधिपूर्वक सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि पूरा गर्दै मनाइने यस पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै छठ पर्व सम्पन्न भएको हो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चारदिने अनुष्ठान विधिवत् रूपमा सम्पन्न भएको हो । बिहानैदेखि देशका विभिन्न नदी तथा जलाशयका किनारमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । विशेषगरी तराई–मधेसका जनकपुरधाम, वीरगन्ज, रौतहट र विराटनगरलगायतका क्षेत्रमा पोखरी तथा घाटहरूलाई भव्य रूपमा सजाइएको थियो। ती स्थानमा हजारौँ व्रतालुले भक्तिभावका साथ उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

छठ पर्वलाई शुद्धता, सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा लिइन्छ । निराहार र निर्जला व्रत बसेका व्रतालुहरूले बाँसका टोकरी र सुपमा ठेकुवा, फलफूल, उखु, कागतीलगायतका सामग्री सजाएर सूर्यदेव र छठी माताको पूजा–आराधना गरेका थिए। उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रतालुहरूले ३६ घण्टाभन्दा लामो कठोर उपवास समाप्त गर्दै व्रतको पारण गरेका छन् ।

केही वर्षयता छठ पर्व तराई–मधेसमा मात्र सीमित नरही राजधानी काठमाडौँ उपत्यका तथा पहाडी जिल्लाहरूमा समेत व्यापक रूपमा मनाउन थालिएको छ । यस पर्वले विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको बुद्धिजीवीहरूको भनाइ छ । पर्वका अवसरमा नदी किनार तथा घाटहरूमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने विभिन्न स्थानीय समितिहरूले भक्तजनको सुविधाका लागि आवश्यक प्रबन्ध मिलाएका थिए ।

सूर्य उपासनाबाट परिवारमा सुख, शान्ति, समृद्धि र दीर्घायु प्राप्त हुनुका साथै रोगव्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै छठका घाटहरूमा भक्तजनहरूले हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै प्रसाद ग्रहण गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर