
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची-महाकाली पदयात्रा गर्न मेची प्रस्थान गरेका छन् ।
जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताएका हुन् ।
सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलवार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिए । उनले पदयात्रालाई देश र समाज जोड्ने अभियान भएको बताए । जात, धर्म, पहाड–मधेश तथा वर्ग समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ । सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताए ।
अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको उल्लेख गर्दै उनले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने बताए ।