
काठमाडौँ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६:४० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।
दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट हटाएपछि राजमार्गमा यातायात सञ्चालन नियमित बनाइएको छ ।