२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

‘राष्ट्रिय हाइकु वाचन’को पहिलो शृङ्खला सम्पन्न

Nada
२०८३ कार्तिक ३० गते १३:४५
Shares
‘राष्ट्रिय हाइकु वाचन’को पहिलो शृङ्खला सम्पन्न

ललितपुर : नेपाल हाइकु सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘राष्ट्रिय हाइकु वाचन’ शृङ्खला–१ सम्पन्न भएको छ । शनिबार ललितपुरको चापागाउँ दोबाटोस्थित ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा हाइकु कवि मोहन दुवालले ब्यानर वाचन गरेर शृङ्खलाको उद्घाटन गरे । सोही अवसरमा नेपाली हाइकु कविता लेखनमा योगदान पुर्‍याएका वरिष्ठ कवि तथा नेपाल सरकारका पूर्वराजदूत डा. दुबसु क्षेत्रीलाई ‘हाइकु सम्मान–२०८०’ प्रदान गरियो ।

सम्मान प्रदान गर्दै दुवालले नेपाली हाइकु कविहरूले हाइकु लेखनका स्थापित सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको धारणा राखे । सम्मानित व्यक्तित्व डा. क्षेत्रीले जापानमा साहित्यलाई उच्च महत्त्वका साथ हेरिने गरेको आफ्नो अनुभव सुनाउँदै नेपाली हाइकुको आफ्नै परिवेश र विशेषता रहेकाले जापानी र नेपाली हाइकुको सीधा तुलना गर्न नमिल्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले हाइकु कवितालाई शास्त्रीय सिद्धान्तका आधारमा मात्रै मूल्याङ्कन गर्न नहुने धारणा राखे ।

विशेष अतिथिहरू नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, पूर्व प्राज्ञसभा सदस्य तथा कवि राम विनय र प्रा. दिनेश चापागाईं ‘गोधूलि’ले हाइकु वाचन गरे। प्रा. चापागाईंले कलामार्फत हाइकु प्रस्तुत गर्ने आफ्नो अभ्यासबारे अनुभव सुनाउँदै नेपाली र जापानी हाइकुलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्यले विभिन्न देशमा हाइकु कला प्रदर्शनी गरेको जानकारी दिए ।

कार्यक्रमका अतिथि वक्ता त्रिभुवन विश्वविद्यालयका अध्यापक तथा समालोचक डा. विनोद मञ्जनले वाचित हाइकुमाथि समीक्षा गरे । उनले हाइकु लेखनका सैद्धान्तिक पक्षबारे चर्चा गर्दै नेपालमा सिर्जना गरिएका हाइकुको शिल्प र सिर्जनात्मक पक्षमा परिमार्जन आवश्यक रहेको औँल्याए ।

यसैगरी, झ्याउरे कविता पुनर्जागरण अभियानकी संयोजक तथा हाइकु कवि रेणुका भट्टराई ‘मञ्जरी’ले वि.सं. २०५० को दशकदेखि नेपाली हाइकु लेखनमा भएका विकास र गतिविधिबारे चर्चा गरिन् । नागार्जुन वाङ्मयका अध्यक्ष तथा हाइकु कवि दिल पौडेलले हाइकुबारे आफ्नो धारणा राख्दै कविता वाचन गरे ।

ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले शुभकामना मन्तव्य राख्दै आगामी कार्यक्रममा आफूले पनि हाइकु वाचन गर्ने प्रतिबद्धता जनाए । जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक तथा कवि भीम कुमाखीले पनि मन्तव्यसहित हाइकु वाचन गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्वराजदूत तथा हाइकु कवि भीम उदास, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य सचिव देवेन्द्र थुम्केली, समाजसेवी रविन गुरुङ, हाइकु कविहरू शरद शोभा, राजुराज देव बज्राचार्य, किरण शाक्य, राजेन्द्र सुवेदी, डा. अनुप श्रेष्ठाचार्य, हिमानी आचार्य र चन्द्रमान मालीलगायतको उपस्थिति थियो ।

शृङ्खलाको पहिलो कार्यक्रमलाई बहुभाषिक स्वरूप दिँदै नेपाल भाषा र वाम्बुले राई भाषामा समेत हाइकु वाचन गरियो । नेवा: हाइकु ख्य:का अध्यक्ष सुरेश प्रधानले नेपाल भाषामा हाइकु लेखनको परम्पराबारे चर्चा गर्दै कविता वाचन गरे । त्यस्तै, कृष्णभक्त बोडे, सुधीर ख्वबि, पूर्णिमा शाक्य, धर्मकृष्ण सिकर्मी, शाक्य सुरेन र विजयरत्न तुलाधरलगायतका कविहरूले नेपाल भाषामा हाइकु वाचन गरे ।

अतिथि हाइकु कवि गणेश राईले वाम्बुले राई भाषामा हाइकु प्रस्तुत गरे । यसैगरी गोपाल सञ्जेल, जुमन किरण, समाश्री, वशिष्ठ अधिकारी, नवराज सञ्जेल, राजाराम राउत, सन्तोष सिम्खडा, बैरागी जेठा, भोला ढकाल, मनोज शर्मा, सृजना सरोवर र दिनेश खरेललगायतले नेपाली भाषामा हाइकु वाचन गरे ।

नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमलाले राष्ट्रिय हाइकु वाचन शृङ्खलाको सुरुआतसँगै नेपाली हाइकु सिर्जना, वाचन, समीक्षा र विधागत बहसलाई निरन्तरता दिने बताए । उनले आफ्नो हाइकुसमेत वाचन गरे ।

सङ्घका महासचिव पुष्करराज बुढाथोकी ‘साउँतेली’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्घोषण सङ्घका केन्द्रीय सदस्य तथा हाइकु कवि होमशङ्कर बास्तोलाले गरेका थिए ।

कार्यक्रममा तीन दर्जनभन्दा बढी हाइकु कविहरूले आफ्ना सिर्जना वाचन गरे । हाइकु वाचनसँगै नेपाली हाइकुको मौलिकता, लेखनका सिद्धान्त, जापानी हाइकुसँगको सम्बन्ध र यसको विकासक्रमबारे समेत विस्तृत विचारविमर्श भयो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर