काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संस्था (आईओएम)बीच सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासन संस्थाका निर्देशक जोसेफ सामुयल अपिआहले बिहीबार गरेको शिष्टाचार भेटमा उक्त छलफल भएको हो । भेटका अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संस्था र श्रम मन्त्रालयबीच भएका र हुनसक्ने समन्वय र सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
शिष्टाचार भेटमा मन्त्री भण्डारीले नेपालबाट विदेशमा गइ काम गरिरहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय संस्थाहरुको समेत महत्वपूर्ण भूमिका रहने बताए । उनले सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने विषयमा आन्तरिक तयारी रहेको जानकारी गराएका छन् ।
भेटमा आईओएमका निर्देशक जोसेफले नेपाल सरकारको आप्रवासन नीति कार्यान्वयनमा अन्तर्राष्ट्रिय आप्रवासन संस्था सधैं सकरात्मक रहेको र सहयोगका लागि तत्पर रहेको बताएका छन् ।
त्यसैगरी मन्त्री भण्डारीसँग जापानी सहयोगी संस्था कोईका आवासीय निर्देशक किम हायुन क्यूले शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाली कामदार लैजान जापानी परियोजना ‘खामी’को सहयोगका लागि निजी बैंकहरुसँग सहकार्य गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको सीप भएका नेपाली कामदार पठाउनका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
छलफलमा मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति पठाउने विषयमा छलफल भएको र त्यसमा मन्त्रालय तत्पर रहेको जानकारी दिएको मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालले उल्लेख गरेका छन् ।