पोखराबाट काठमाडौका लागि छुटेको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जना भारतीयले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव लिन शनिबार भारतीय युवा तथा खेलकुद राज्यमन्त्री नेपाल आएका थिए । तनहुँको आँबुखैरनीमा खसेको बसमा ज्यान गुमाएकाहरुको शव राज्यमन्त्रीले बुझेका छन् । दुर्घटनामा परेको बस पर्यटकीय प्रयोजनका निम्ति आएको थियो । ८ दिनको रुट परमिट लिएर नेपाल छिरेका दुई मध्ये एउटा बस आँबुखैरेनीबाट मर्स्याङ्दीमा खसेको हो । यो बस दुर्घटनाबाट २७ जना नागरिकले ज्यान गमाउनु परेको त छ नै, सँगै यो दुर्घटनाबाट असाध्यै नराम्रो सन्देश गएको छ । यो दुर्घटनाले नेपाल घुम्न आउने भारतीयहरुको मनमा झस्को पसेको छ । यो बाहेक अरुतिर पनि दिनहुँ जसो दुर्घटना भइरहेको छ ।
जबकी पर्यटकीय मौसम सुरु हुनै बाँकी छ । उघ्रदो आकाश र बढ्दो चाडबाँडसँगै धार्मिक एवं पर्यावरणीय पर्यटकहरु नेपाल आउने तयारीमा थिए । तर २७ जना भारतीय नागरिकले ज्यान गुमाउनेगरी भएको दुर्घटनाले चिन्ता थपेको छ । अतः यो दुर्घटनालाई सिकाइ मान्दै तत्कालीन र दीर्घकालीन योजना निर्माणमा ध्यान दिन आवश्यक छ । उद्देश्य चाहिँ सुरक्षित यात्रा हो । जसका निम्ति भौतिक पूर्वाधार निर्माण, प्रशासनिक सक्रियता र आवश्यक ऐन जरुरी हुन्छ । तर जीर्ण सडक र प्रशासनबाट आवश्यक निगरानी नहुँदा दुर्घटना दर बढिरहेको छ । दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको छ भने त्यसको दीर्घकालीन असर बहुआयामिक छन् ।
अनि राज्यसँग दुर्घटना न्यूनिकरणको पहल लिने बाहेक अर्थोक विकल्प पनि छैन । अझ बिस्तारै चाडहरुको मौसम सुरु हुँदैछ । यस्तो बेला तुलनात्मक रुपले बढी मानिसले यात्रा गर्छन् । चाड मनाउन घर फर्कने र घरबाट नियमित कार्य क्षेत्र फर्कनेहरु हुन्छन् । विशेषगरी दशैं, तिहार, छठ जस्ता पर्वमा यात्रु धेरै हुन्छन् । यस्तो बेला प्रशासनको निगरानी बढाउनु तत्कालीन समाधान हो । क्षमता भन्दा बढी यात्रु राख्न नदिने, रुट परमिटलाई ध्यान दिने, मादक पदार्थ सेवन गरी सवारी सञ्चालनमा रोक लगाउने, आवश्यक कागजपत्रमा ध्यान दिने जस्ता विषय हेर्दा मात्र पनि सुरक्षित यात्रालाई बल पुग्छ । तर यही काम नहुँदा दुर्घटना बढिरहेको छ । अनि दीर्घकालीन समाधान भनेको यातायात नीतिमै ध्यान दिएर आवश्यक कामहरु गर्न जरुरी छ ।