२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

वृत्तचित्र फिल्म ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी

Nada
२०८१ भदौ १० गते १९:५६
Shares
वृत्तचित्र फिल्म ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी

काठमाडौं : सिन्धुपाल्चोकको गञ्जला चुली आरोहण गर्ने २७ जना महिलाको उल्लेखनीय प्रयास समेटेर बनाइएको वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ प्रदर्शन गरिएको छ । विश्व समावेशी साहसी संस्थाको आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्रमा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाको प्रेरणादायी यात्रालाई समेटिएको छ ।

ncell

दक्षिण–पूर्वी मोहडाबाट पहिलोपटक गञ्जला चुली छुने प्रयासमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टिमले गरेको प्रयासलाई ३४ मिनेटको वृत्तचित्रमा वर्णन गरिएको छ । यस्तै सिन्धुपाल्चोकका महिलाले सामना गर्नुपरेका कठिनाइ र विजयलाई चित्रण गरिएको छ । 

वृत्तचित्र प्रदर्शनीपछि सिन्धुपाल्चोक वरपरका हिमाल र माया गुरुङले पर्वतारोहणमा गरेका प्रयासबारे चर्चा गरिएको थियो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणाले वृत्तचित्र राष्ट्रको अवस्थाप्रति निराश बन्दै गएका नेपाली युवाका लागि आशा र प्रेरणाको ज्योति बनेको उल्लेख गरिन् । उनले पर्यटनमा महिला रोजगारीको महत्वलाई जोड दिएकी थिइन् । 

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले दिगो पर्यटन, वातावरण संरक्षण र महिला सशक्तीकरणमा पर्वतारोही गुरुङको योगदानको प्रशंसा गरे । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङपाल गाउँपालिका उपप्रमुख सुनिता अधिकारी, प्रा चिरञ्जीवी खनाल, मोहन श्रेष्ठ, प्रदीपकुमार उदय, हरि थापा, प्रदीप पोखरेल, ओमकृष्ण प्रसाईं, उत्तम केसी, सुमन रिमाल, माधवप्रसाद तिवारीलगायतको उपस्थिति थियो । 

कार्यक्रममा आरोहीहरूको उपलब्धि मात्र नभइ नेपालमा महिला सशक्तीकरण र पर्वतारोहणका लागि उनीहरूले गरेका प्रयासको प्रशंसा गरिएको थियो । नेपाल पर्वतारोहण संघले गञ्जला चुली आरोहण गर्ने महिला आरोहीलाई उनीहरूको उपलब्धिको कदर गर्दै प्रमाणपत्र प्रदान गरेको थियो ।

वृत्तचित्रलाई अनुभवी फिल्मकर्मी लव प्याकुरेलले निर्देशन र सम्पादन गरेका हुन् । उनले वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्य सान्दर्भिक मञ्चमा प्रदर्शन गर्ने योजना रहेको सुनाए । रमेश धमला, देवु राजवंशी र मनमाया तामाङको छायाँकन रहेको वृत्तचित्रमा ‘भिएफएक्स’ मानबहादुर थापा र ‘कलर ग्रेडिङ’ अच्युत बजगाईंले गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर