२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

‘लैंगिक हिंसा न्यूनीकरण गर्न सबैले चासो देखाउनुपर्छ’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २८ गते २०:२८
‘लैंगिक हिंसा न्यूनीकरण गर्न सबैले चासो देखाउनुपर्छ’

अर्घाखाँची : जिल्ला  प्रशासन  कार्यालय  अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिकाको  सभाहलमा लैंगिक हिंसा, अपराध तथा लागुऔषध नियन्त्रण विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकारहरु तथा जिल्लाभित्रका महिलाको क्षेत्रमा काम गर्ने संघसंस्था एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्यले महिला हिंसा, लागुऔषध नियन्त्रण गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए । 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले अर्घाखाँचीमा प्रहरीले महिला हिंसा अन्त्यका लागि र लागुऔषध  नियन्त्रणका लागि गरेको प्रयास अत्यन्त प्रभावकारी भएको बताएका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीव नारायण कोईरालाले प्रत्येक टोल विकास संस्थाले आफ्नो गाउँटोलमा भइरहेका कुनै पनि घटनाहरु थाहा पाउने भएकोले महिला हिंसा अन्त्यका लागि टोल विकास संस्थाको सहयोग लिएर नियन्त्रण गर्न सकिने बताए । 

नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हिंसा, अपराध वा लागुऔषध नियन्त्रणका लागि सामाजिक मनोविमर्स तथा चेतनामुलक कार्यक्रमहरु नगरपालिकाले पनि गरिरहेकाले सबैको साथ सहयोग भएमा महिला हिंसा अन्त्य हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लक्ष्मी ज्ञवालीले  लागुऔषध, अपराध र लैंगिक हिंसा नियन्त्रणमा विगतको तुलनामा धेरै सुधार आएको बताउँदै सन्धिखर्क नगरपालिकाले यो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता बिष्णु आचार्यले शहरी क्षेत्रमा जस्तै ग्रामीण क्षेत्रमा हिंसाका घटना, बाल विवाह, मादक पदार्थ सेवानबाट अपराध हुने गरेको, लैंगिक हिंसा, घरेलु हिंसा, लागुऔषध सेवन गर्नेहरुको संख्या बढ्दो भएकोले यो  अवस्थालाई नियन्त्रण गर्न समस्या भएको र प्रहरीमा उजुरी परेपछि मात्र सरकारी वकिल कार्यालयले जानकारी पाउने अवस्था रहेको बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले  लैंगिक हिंसा, अपराध तथा लागुऔषध नियन्त्रणका लागि मनोपरामर्श कार्यक्रमका साथै स्थानीय संघसंस्था जनप्रतिनिधिहरुसँगको समन्वयमा कार्यक्रम गर्दा प्रभावकारी हुने बताए । 

कार्यक्रम जिल्ला प्रशासनका कार्यालयका प्रशासकीय अधिकृत दुर्गा न्यौपानेले सञ्चालन गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise