२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगारको आवरणमा शिक्षित नै बेचिए

ADV
रासस
२०८१ भदौ १७ गते २२:०२
वैदेशिक रोजगारको आवरणमा शिक्षित नै बेचिए

काठमाडौं : चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो । कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैं सताइरहन्थ्यो ।

यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन् । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक)मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गरिन् । फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भनिन्, ‘घरमा पनि सधैं लाउन खानकै दुःख, अरुभन्दा पनि छोराछोरीलाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरें ।’

फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । भारतको बेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको विपनाले थाहा पाइन् । एक वर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल भइन् ।

यसरी प्रलोभनमा पारेर भारतमा बेचिएकी विपना एक उदाहरण मात्रै हुन् । बढ्दो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेचबिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे । अहिले शहरका टाठाबाठा सजिलै बेचिने गरेका छन् । पछिल्ला पाँच वर्षयता शहरकै शिक्षित महिला बेचबिखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मावन बेचबिखन तथा ओसारपसार गर्न दलालहरुलाई सजिलो भएको छ । 

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मावन बेचबिखन रोक्न पहल गरिरहेका छन् । तर मावन बेचबिखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्यांक हेर्ने हो भने मानव बेचबिखनमा पर्ने ८० प्रतिशत बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचबिखनमा पार्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ ।

नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैं बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपु¥याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकै बाट बेचिने गरेका छन् । पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इण्डियाले जनाएको थियो ।

मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवम् भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजको परिवारसँग पुनःमिलन गराइएको छ ।

यसरी पछिल्लो समय मानव बेचबिखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

राम्रो लगाउनुपर्ने, मिठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचबिखन तथा ओसारपसार रोक्न राज्यले सोहीअनुरुप सक्रियता देखाउनुपर्ने देखिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise