२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनार्दनको विकल्प : पलायन कि संघर्ष ?

ADV
अस्मिता बम
२०८१ भदौ १८ गते ०६:५०
जनार्दनको विकल्प : पलायन कि संघर्ष ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको पछिल्लो सर्कुलरले पार्टीभित्रको आन्तरिक अन्तरसंघर्षलाई थप उजागर गरिदिएको छ । उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र राखेको विषयलाई केन्द्रित् गर्दै माओवादी केन्द्रले आइतबार नयाँ सर्कुलर जारी गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरेर राखिएको छ । 

हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो फरक मत लिखित रुपमै राखेका थिए । उक्त स्थायी समितिको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन् भन्दै आफ्नो भन्ने निष्कर्ष सुनाएका थिए । त्यही आशयको सर्कुलर यही भदौ दुई गते जारी भएको थियो ।

त्यसमा विवाद भएपछि आइतबार नयाँ सर्कुलर जारी गरिएको हो । जसमा भदौ २ गते जारी गरिएको सर्कुलरमा थप भएका विषयलाई बोल्ड गरेर राखिएको छ । 

तर पूरानो विवाद सम्झाउने गरी नयाँ सर्कुलर जारी गरिएपछि पार्टीभित्रको आन्तरिक अन्तरसंघर्षलाई थप उजागर हुन पुगेको नेताहरू बताउँछन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विल्कप खोज्न थालेपछि निशानामा परेका उपमहासचिव शर्मा पार्टीमा पेलिने स्थितिमा पुगेका छन् । अब दह्रिलो भएर आन्तरिक संघर्ष गर्ने वा पार्टीबाट पलायन हुने विकल्पमा जनार्दन पुगेको माओवादी नेताहरू नै बताउँछन् । 

२०६९ सालमा माओवादी पार्टीको विभाजनपछि जनार्दन शक्तिमा आएका थिए । त्यसअघि २०५२ सालदेखि सुरु माओवादी युद्धका कमिसार रहेका जनार्दन शान्ति प्रक्रिया आसपासबाट प्रचण्ड सुप्रिम कमाण्डर रहेको जनमुक्ति सेनाका डेपुटी कमाण्डर थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल भएपछि सरकारको नेतृत्व गर्ने अवसर पायो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २०६५ सालमा जनार्दन शान्ति तथा पुनर्निर्माण मन्त्री भए । त्यसको दुई वर्षपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा शर्मा रुकुमबाट विजयी भए । २०७२ सालमा संविधानसभाबाट संविधान निर्माण भयो । त्यसपछि कांग्रेससँगको गठबन्धनमा बनेको सरकारमा २०७३ सालमा प्रचण्डको पालामा शर्मा ऊर्जामन्त्री बने । उनी ऊर्जामन्त्री हुँदा कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको नेतृत्वमा ल्याएपछि लामो समयदेखि चलिरहेको लोडसेडिङको चंगुलबाट मुलुकलाई मुक्त गराउन सफल भएको भन्दै प्रशंसा बटुले ।

केही नेताहरूका अनुसार त्यो बेला प्रचण्ड सहित पार्टीका नेताहरू त्यसको श्रेय शर्मा एक्लैले लिएको भन्दै असन्तुष्ट बनेका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पालो आयो । शर्मा दोहोरिएर मन्त्री बने, त्यतिबेला भने उनी गृहमन्त्री बने । त्यसपछि २०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेपछि पार्टी एकता भयो । 

२०७७ सालमा सर्वोच्चको आदेशमा एमाले र माओवादी एकता भंग भयो । कांग्रेससँग माओवादी लगायत दलहरूको गठबन्धन सरकार बनेपछि शर्मा अर्थ मन्त्री भएका थिए ।

यसरी सत्ता राजनीति र पार्टी सत्तामा बलियो बनाउँदै लगेका शर्माले पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डकै विल्पक खोजेका हुन् । यसका लागि पार्टीको स्थायी समितिको बैठकमा फरक मत राखेपछि उनी निशानामा परेका हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise