२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कामदारको हकहित संरक्षण प्रस्तावित राजदूतहरुको प्राथमिकतामा

ADV
२०८१ भदौ २० गते ०६:२५
कामदारको हकहित संरक्षण प्रस्तावित राजदूतहरुको प्राथमिकतामा

काठमाडौं : विभिन्न मुलुकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइमा विगतको भन्दा यस पटक फरक अवस्था देखा परेको छ । विगतमा विभिन्न मुलुकमा प्रस्तावित राजदूतहरूले द्विपक्षीय सम्बन्ध, पर्यटन अभिवृद्धि र अर्थ कूटनीतीलाई प्राथमिकता दिने गरेका थिए । तर यस पटक ती विषयभन्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित संरक्षणको विषयलाई सबैजसो प्रस्तावित राजदूतहरूले आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइ समितिमा नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य साउदी अरेबिया र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भएको छ । सोमबार मलेसिया र कतारसहितका देशमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भएको थियो । प्रस्तावित राजदूतमध्ये सबैले कामदारको हकहित र सुरक्षाका विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले उक्त मुलुकमा  नेपाली कामदारका लागि कोटा बढाउन पहल गर्ने बताइन् भने साउदी अरेबियाका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले आफूले नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकनका क्रममा नेपाली कामदारको तलव वृद्धिको विषयमा उच्च पहल गर्ने बताए ।

तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउने आधार नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षता भएको बताइन् । ईपीएस प्रणालीको निष्पक्षता प्रचार गर्दै  करार अवधि सकिएपछि अवैधानिक भएर नबस्ने, तुरुन्तै स्वदेश फर्कनेजस्ता पक्षलाई जोड दिनु आवश्यक रहेकोे उनले बताइन् । उनले कोरियामा रहेका कतिपय नेपाली कामदारले डिप्रेसनको शिकार भइ आत्महत्या गर्ने गरेकाले ‘तनाव व्यवस्थापन’ कार्यक्रमलाई पनि अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

साउदी अरबका लागि प्रस्तावित राजदूत ढकालले दुवै मुलुकबीच उच्चस्तरीय भ्रमण गराउने र बजारको वर्क भ्यालुअनुसार नेपाली कामदारको तलव बढाउन पहल गर्ने बताए । साउदी अरबमा हाल करिब ४ लाख नेपाली रहेका छन् । 

सोमबार समितिमा नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेसिया, पोर्चुगल, इजरायलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको थियोे । त्यसमध्ये मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले सांसदहरूका अनेकौं प्रश्नहरू सामना गरे । प्रस्तावित राजदूत डा. तिमिल्सिनाले सिण्डिकेट वा कसैसँग साँठगाँठ नगरी कामदारका हितमा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका थिए ।

पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर  स्थापना गर्नका लागि भूमिका खेल्ने बताएका छन् ।

प्रस्तावित राजदूतहरूले वैदेशिक रोजगारको क्षेत्रमा कति सहयोग पुर्‍याउने छन्, यो भने उनीहरूले कार्यभार सम्हालेपछि मात्रै प्रष्ट हुने कतिपय वैदेशिक रोजगार व्यवसायीहरूको टिप्पणी छ । उनीहरूले भनेका छन्, ‘दूतावासमा पुग्नेबित्तिकै राजदूतहरूले कर्मचारी र अदृश्य शक्तिसँग मिलेर तजविजी शुरू गर्ने नमिठो विगत छ, आगामी दिनमा त्यो पक्षपात नदोहोरियोस् ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise