२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एम्नेष्टीमा सहभागी हुनेलाई रोजगारीदेखि हवाई टिकट

ADV
२०८१ भदौ २३ गते ०६:२५
एम्नेष्टीमा सहभागी हुनेलाई रोजगारीदेखि हवाई टिकट

काठमाडौं : यूएईस्थित नेपाली दूतावासले अवैध अवस्थामा रहेका नेपालीलाई घर फर्किने प्रयासमा सहजीकरणका लागि प्रक्रिया शुरु गरेको छ । यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैधरुपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरुलाई स्वदेश फर्कन वा वैधानिक भइ बस्न सेप्टेम्बर १ तारिकदेखि अक्टोबर ३० तारिकसम्म लागू हुने गरी एम्नेष्टी आदेश जारी गरेको छ ।

नेपाली दूतावासले विगतमा वर्किङ वा भिजिट भिसामा यूएई गएर रन वे (भागेका) वा ओभर स्टे भइ जरिवाना वा अध्यागमन समस्या रहेकाहरूले एमन्ष्टीको सुविधा पाउने बताएको छ । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक यूएईमा करिब ६ लाख नेपाली रहेको अनुमान दूतावासको छ ।

नेपाली दूतावासका काउन्सिलर श्रम दीनबन्धु सुवेदीका अनुसार हाल १५ हजार हाराहारीमा नेपाली गैरकानूनी हैसियतमा रहेको अनुमान गरिएको छ । भिजिट भिसामा गएका अधिकांश गैरकानूनी हैसियतमा रहेको बताइएको छ । सुवेदीले धेरै नेपाली अवैधानिक अवस्थामा रहेको अनुमान गरिएका दुबई र शारजाह क्षेत्रलाई लक्षित गरेर दुबईमा सहायता कक्ष सञ्चालन गरिएको बताए । सहायता कक्ष सातै दिन सञ्चालन हुनेछ ।

वैधानिकीकरण भएपछि यूएईमा भ्रमण तथा कामकाजका लागि जान कुनै समस्या नहुने दूतावासले स्पष्ट पारेको छ । दूतावासले एम्नेष्टी अवधिमा स्वदेश फर्कन चाहने नेपालीलाई यात्रा अनुमतिपत्र निःशुल्क बनाइदिनेदेखि जहाज टिकटमा सहुलियत दिन नेपाल वायुसेवा निगम र ठूला विमान कम्पनीसँग छलफल गरिरहेको पनि सुवेदीले बताएका छन् ।

केही रोजगारदाताले एम्नेष्टी कार्यक्रममा दक्ष कामदार भर्ना गर्ने अवसरका रूपमा लिएर अध्यागमनमा स्टल खडा गरेर तत्कालै रोजगारी दिने अफर गरिरहेका छन् । यूएईका ठूला कम्पनीले स्वीकृत कोटाका आधारमा रोजगारीमा भर्ना गरिरहेको बताइएको छ ।

दूतावासले एम्नेष्टी कार्यक्रमको व्यापक प्रचारप्रसार गर्न गैरआवासीय नेपाली संघ, यूएईमा रहेका नेपालीका सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ । एम्नेष्टीपछि एकतर्फी यात्रा अनुमतिपत्र पाएकाले १४ दिनभित्र यूएई छोड्नुपर्ने यसअघि नै दूतावासले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise