सत्ता साझेदार दल निकट विद्यार्थी संगठनहरुकै मतभेदका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय एक सातादेखि ठप्प छ । विश्वविद्यालयको परीक्षा रोकिएको छ भने नयाँ भर्ना कार्यक्रम अवरुद्ध छ । सिंगो विश्वविद्यालय ठप्प हुने परिस्थिति भने नेवि संघ र अनेरास्ववियुबीच उत्पन्न विवादका कारण उत्पन्न भएको हो । नेपाली कांग्रेस निकट नेवि संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच सामाजिक सञ्जालबाट विवाद सुरु भएको थियो । सामाजिक सञ्जालको विवाद कुटाकुटसम्म पुगेको थियो । विश्वविद्यालयभित्रै सत्तारुढ विद्यार्थीहरुबीच कुटाकुट भएपछि परीक्षा र भर्ना जस्ता कार्यक्रम समेत रोकिएको छ । यस्तो परिस्थितिको जवाफ कुनैपनि निकायले दिन सकेका छैनन् । विश्वविद्यालयका उपकुलपति पूण्यप्रसाद रेग्मीले छानबीन समितिको प्रतिवेदनपछि मात्र जवाफ दिन सकिने बताइरहेका छन् । सत्तारुढ साझेदारहरुबीचको झगडा भएकाले प्रष्ट जवाफ नआउनु स्वभाविक हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय भन्दा अगाडि मुलुककै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा पनि विद्यार्थी संगठनकै कारण समस्या छ । त्रिविको सामाज शास्त्र संकायका प्रमुख चयनको विषयमा विवाद हुँदा त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु नै विदामा बस्ने परिस्थिति सिर्जना भएको थियो । असुरक्षाका कारण देखाएर उपकुलपति विदामा बस्नु मुलुककै दुर्भाग्य थियो । अझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाटै त्रिवि सुरक्षाको बातावरण मिलाउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका थिए । गृहमन्त्री कांग्रेस र शिक्षा मन्त्री एमाले भएकाले सामाजिक सञ्जालबाट गरिएको आग्रहलाई चासोका साथ हेरिएको छ ।
यी दुई पछिल्ला उदाहरण मात्र हुन् । विद्यार्थी संगठनहरुका कारण सबैजसो विश्वविद्यालय प्रभावित छन् । एक दृष्टिकोणले हेर्दा विश्वविद्यालय सुधारमा विद्यार्थी संगठनहरु समस्या जस्ता देखिएका छन् । जबकी यी विद्यार्थी संगठनहरु कुनैबेला गौरवका संगठन थिए । शिक्षाको पहुँज बिस्तार, गुणस्तरमा सुधारदेखि सामाजिक–राजनीतिक रुपान्तरणका अगुवा दस्ता थिए । तर आज तिनै विद्यार्थी संगठनहरु स्वयं मातृ पार्टीका निम्ति भार जस्ता देखिएका छन् । विश्वविद्यालयको गुणस्तर खस्कनु, राम्रो शिक्षाको खोजीमा युवाहरु विदेशिनु र योग्य जनशक्ति उत्पादन नहुनुको कारण खोजी गर्दा विद्यार्थी संगठनहरुको अति राजनीति भन्ने निष्कर्ष आउन थालेको छ । मुलुक, राजनीतिक दलहरु, विश्वविद्यालय र तिनै विद्यार्थी संगठनको गौरवपूर्ण इतिहासका निम्ति पनि अहिलेको प्रवृत्ति परिवर्तन आवश्यक छ । मूल नेतृत्वबाट हस्तक्षेपकारी भूमिकाले प्रवृत्ति परिवर्तन हुन सक्छ । त्यसका निम्ति ढिलाइ गर्न हुन्न ।