२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

थप बलियो बन्दै सत्तारुढ

ADV
अस्मिता बम
२०८१ भदौ २४ गते ०६:५०
थप बलियो बन्दै सत्तारुढ

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका नेताहरू आपसी विश्वास दह्रिलो बनाउनुपर्ने निचोडमा पुगेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आ–आफ्ना विश्वासपात्रसहित करिब दुई घण्टा छलफलमा बसे । उक्त छलफलपछि नेतारूले आपसी विश्वास दह्रिलो बनाउनुपर्ने निचोडमा पुगेको बताएका हुन् ।

नेताहरूका अनुसार सरकार सञ्चालन, बजेट परिचालन, संवैधानिक नियुक्ति, कर्मचारी सरुवा/बढुवा र प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण केन्द्रित भएर नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच खुलेर छलफल भएको छ । छलफलमा एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल उपस्थित थिए । कांग्रेसबाट सभापति देउवासहित पार्टी केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु देउवा उपस्थिति थिए । 

सत्ता गठबन्धनमा अविश्वास बढेको कतिपयको आशंकाकाबीच सरकारको नेतृत्वकर्ता दल एमाले र प्रमुख सत्ता घटक कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको हो । 

आपसी अविश्वास हटाउन प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले आफ्ना विश्वासपात्रलाई सँगै राखेर छलफल गरेका हुन् । नेताहरूका अनुसार। सरकार सञ्चालन तथा समग्र राजनीतिका विषयमा शीर्ष तहमा छलफल भएको हो । संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क जाँदैछन् । 

महासभा यही भदौ २५ गतेबाट सुरु हुँदैछ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीले त्यसअगाडि कांग्रेसका नेताहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू बताउँछन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर ओली नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना भयो । गत असार १७ गते राति कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि असार २८ गते प्रचण्ड प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । प्रचण्डले विश्वासको मत नपाएसँगै ओली नेतृत्वका कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । 

गत साउन ६ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाएका थिए । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले दुई दलबीच भएको सहमति सार्वजनिक गरेका थिए ।

तथापि, पछिल्लो समयमा दुई दलका बिचमा अविश्वास बढेको कतिपय नेताहरूको भनाइ छ । आपसी अविश्वास हटाउन र सरकार संचालनलाई थप प्रभावकारी बनाउन सत्ता गठबन्धनका प्रमुख दुई घटकबीच शीर्ष तहमा संवाद भएको नेताहरू बताउँछन् । 

शीर्ष तहको छलफलमा सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको बताइएको छ । नेताहरूका अनुसार नागरिकमा रहेका कतिपय निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नुपर्ने अवाज समेत उठेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise