दोहा, कतार : नेपालका पुराना पप स्टारका रूपमा परिचित गायक सबिन राई सांगीतिक प्रस्तुति दिन कतार आउने भएका छन् । मध्यपूर्वको देश कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन सबिन राई एण्ड द फ्यारोह ब्यान्ड नै पहिलो पटक कतार आउन लागेको हो ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद-अल-अदाको सार्वजनिक बिदाको अवसरमा अर्मानी एक्स लञ्ज एण्ड बारले आयोजना गरेको सागितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन उनी कतार आउन लागेका हुन् । आफ्नो सांगीतिक प्रस्तुतिमा रम्न-रमाउन कतारवासी नेपालीलाई राई तथा उनको ब्यान्डका सदस्यहरूले भिडियोमार्फत आग्रह गरेका छन् । यही १७ तारीक र १८ तारीक साँझ हुने कार्यक्रमको पहिलो दिनको टिकट सोल्ड आउट भएको क्लब सञ्चालक रमेश केसीले जानकारी दिए । उनले पहिलो दिनका लागि सिट सकिएको र दोस्रो दिनको पनि ७५ प्रतिशतभन्दा बढी सिटहरू बुक भइसकेको बताए ।
कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित क्लबमा हुने कार्यक्रमका लागि दिउँसो २ बजेबाट गेट खुल्ने र ४ बजेबाट सांगीतिक प्रस्तुति शुरु हुने कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्हलाई जानकारी दिए । अर्यालले हल प्रवेश गर्न पुरुषका लागि एक सय र महिलाका लागि पचास कतारी रियालको टिकट आवश्यक पर्ने र टिकट क्लबको रिसेप्सनमा पनि उपलब्ध हुने बताए l