सिंगापुरमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया छनोट खेलबाट निराशा बोकेर नेपाली क्रिकेट टीम स्वदेश फर्किएपछि समीक्षा रोकिएको छैन । हारका अनेक पाटो खोतल्ने प्रयास जारी नै छ । टीम संरचना निर्माण, खेलाडी छनोट, कमजोर ब्याटिङ, कप्तान पारस खड्का र विश्व स्टार बनिसकेका सोमपाल कामी नखेल्नुजस्ता टिप्पणी भइरहेका छन् । संभवतः यो क्रम अर्को सफलताले मात्रै टुंग्याउने छ ।
तुलनात्मक कमजोर देशसँग पनि पराजित भएर विश्वकपको बाटो बन्द भएकाले समीक्षा सही नै हो । अझ सन् २०१४ को विश्वकप खेलिसकेको नेपालले सन् २०२० मा टी–ट्वान्टी विश्वकप खेल्न नपाउनु आफैमा स्वभनीय विषय होइन । एक वर्ष अगाडि मात्रै एक दिवसीय क्रिकेटको मान्यता पाएको देशले कमजोर प्रतिश्पर्धीसँग पराजित हुनुले समीक्षाको बाटो नै खुला गरेको छ । प्रशंसाका शब्दहरु अवाक बनाइदिएको छ ।
तर, भुल्न नहुने तथ्य पनि सामुन्नेमै छ । जस्तो– टीमले पराजय भोग्नु परेपनि कप्तान पारस खड्काले विश्व स्टार खेलाडीको भन्दा अव्वल प्रदर्शन गरेको भन्दै आईसीसीले बरियतामा पारसलाई निकै माथि राखिदिएको छ । सन्दीप लामिछाने व्यक्तिगत प्रयत्नबाटै संसारभर फ्रेन्चाइजी खेलका अनिवार्य खेलाडी बनिसकेका छन् । अर्का अलराउण्डर सोमपाल कामीले क्यानडाको ग्लोबल टी–२० मार्फत् अन्तरराष्ट्रिय मैदानको बाटो खोलिसकेका छन् । यसको अर्थ पराजयमा खेलाडीको मात्रै दोष भनियो भने त्यो अन्याय हुन जान्छ ।
बरू, वर्षौदेखि निलम्बित क्यानको अवस्थाबारे सोंच्न जरुरी छ । क्यान निलम्बनमा परेकैले नेपालले अन्तरराष्ट्रिय खेलका अवसर सहज रुपमा पाउन सकेको छैन । यदि, क्यान हुने थियो भने एक दिवसीय मान्यता लगत्तै राम्रा देशसँग मैत्री खेलमार्फत् खेलाडीमा निखारपन ल्याउन सहयोग पुग्ने थियो ।
तर, ढिलै भएपनि केही आशाको संकेत देखिन थालेको छ । जस्तो– आईसीसीको नरम भाषा र क्यानले आईसीसीको सर्तअनुसार गतिविधि अगाडि बढाउनु । क्यानले आगामी असोज महाधिवेशन गर्ने तयारी गरेको छ । ३–४ असोजमा निर्धारित मितिलाई आईसीसीले सहमति जनाए निलम्बन फुकुवाको समय धेरै टाढा छैन ।
उसोत, प्रदेशअनुसार अधिवेशन हुने क्रम पनि जारी छ । प्रदेश एकको महाधिवेशन सकिएको छ । प्रदेश ५ को महाधिवेशन ७ भदौ, प्रदेश २ को १४ भदौमा तोकिएको छ । प्रदेश ३ को अधिवेशन सकिसकेको छ । सूदुरपश्चिम प्रदेशको अधिवेशन भइसकेको छ । यसर्थ महाधिवेशन सरासर गनै नै अहिलेको क्रिकेटको वास्तविक समीक्षा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies