२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड लण्डनमा सम्पन्न

Nada
२०८१ भदौ ३१ गते १२:०६
Shares
यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड लण्डनमा सम्पन्न

काठमाडौं : यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत् कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको छ । अनमोल केसी 'फर्की फर्की'बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी 'प्रसाद २'बाट सर्वोत्कृष्ट अभिनेत्री ठहरिएका छन् । 

ncell

इन्फा अवार्डमा 'जारी' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड 'दिमाग खराब'बाट आकाश बरालले हात पार्दा 'प्रसाद २'बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छायाँकार 'प्रसाद २'बाट राजेश श्रेष्ठ, 'फर्की फर्की'बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार 'बोक्सीको घर' (बुझिन मैले), कालीप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्व गायक 'चरी बस्यो' (जारी), समीक्षा अधिकारी 'बोक्सीको घर' (बुझिन मैले)बाट सर्वोत्कृष्ट पाश्र्व गायिका तथा सर्वोत्कृष्ट नृत्य निर्देशक 'पुजार सार्की'बाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारेका छन् ।

यता वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म 'जारी'बाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पारेकी छन् । सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ 'पुजार सार्की'बाट प्रदीप खड्का र सुपला सापकोटाले 'बोक्सीको घर'बाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहले जित्न सफल हुँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छन् । यता पर्फमर अफ दि इयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जित्दा इन्करेजमेन्ट अवार्ड फिल्म 'लण्डन टु पेरिस'बाट गरिमा शर्माले हात पारेकी छन् । यता लाइफटाइम एचिभमेन्ट अवार्डबाट अभिनेता भुवन केसी सम्मानित भएका छन् । 

१९६० मा स्थापित यति नेपाली एशोसिएसन युकेको आयोजना, संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड कार्यक्रम सम्मन भएको हो । २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर प्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भूमिमा आयोजना भएको अवार्डहरुमध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न भएको कोअर्डिनेटर मनिष कार्कीले दाबी गरे । इन्फा अर्को वर्षसमेत यही मितिमा आयोजना गरिने नेपाल कमिटीका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए ।

अवार्ड समारोहमा केकी अधिकारीले 'बुझिन मैले', अनमोल केसी र जसिता गुरुङले 'फर्की फर्की', शिल्पा मास्केले 'गैरी खेतको' र 'आज हाम्रो भेट भाको दिन', सुशान्त खत्रीले नेपाली गीतको कलेक्सन तथा गरिमा शर्मा, भुवन केसी, जिया केसी, गौरी मल्ल, प्रकाश शाह, आर्जन पाण्डेले आ-आफ्नो प्रस्तुति दिएका थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर