दोहा, कतार : नेपाल सरकारको परराष्ट्र मन्त्रालयमातहत रहेको राहदानी नवीकरणका लागि अनलाइनमार्फत भर्न मिल्ने पासपोर्टको स्लट खाडीका अधिकांश देशमा नखुल्ने गरेको गुनासो बाक्लिन थालेको छ । खाडी राष्ट्रमध्ये कतारबाट पासपोर्टको फाराम भर्न स्लट नखुल्ने तर दूतावासमा दैनिक सयौं आवेदन आउनुलाई कर्मचारीको मिलीभगतका रूपमा हेर्न थालिएको छ ।
पछिल्लो एक महिनायता पासपोर्टको फाराम भर्ने स्लट नखुल्नुका पछाडिका कारणबारे कतारमा रहेका नेपाली समाजका अगुवा, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले दूतावासकै कर्मचारीप्रति आशंका व्यक्त गर्न थालेका छन् ।
एनआरएनए एनसीसी कतारको पहलमा यही सेप्टेम्बर १ तारिकमा पासपोर्ट नवीकरणमा देखिएका समस्याका बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अधिकांश वक्ताहरूले दूतावासको आइपी एड्रेसका बारेमा खरो प्रतिक्रिया दिए । वक्ताहरूले दूतावासको बाहिर बसेका ट्याक्सी ड्राइभरले ५० कतारी रियाल लिएर फाराम भरी हाल्न सक्ने, तर अरुले खोल्दा स्लट नखुल्नु दूतावासका कर्मचारीको मिलीभगत रहेको आरोप लगाए ।
कार्यक्रममा युरोप अमेरिका जस्ता देशमा जति बेला पनि स्लट खुल्ने, तर कतारबाट किन नखुल्ने भन्दै वक्ताहरुले यसको कारण खोजिनुपर्ने बताएका थिए । केही व्यक्तिले स्लटमा फरक देश र मिति पारेर फाराम भर्ने र दूतावासका कर्मचारीले फिजिकल फाराम लिँदा ती सबै विवरण सच्चाएर लिने गरेको, ड्यामेज भएको या हराएको पासपोर्टका हकमा भने दोब्बर दस्तुर लिएर पासपोर्ट जारी गर्ने गरेको अन्तरक्रियामा सहभागीहरूले धारणा राखेका थिए ।
यद्यपि उक्त कार्यक्रममा भएका छलफल र निष्कर्षलाई अन्तिम रूप दिएर दूतावासमा बुझाउने अन्तिम तयारी गरिएको एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिए । अनलाइन पासपोर्ट नवीकरण र स्लटका समस्याका बारेमा गत हप्ताबाट कतारका सार्वजनिक कार्यक्रममा वक्ताहरूले प्रश्नसमेत उठाउन थालेका छन् ।
गत शुक्रवार एक सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष अर्जुन पौडेलले समयमै पासपोर्ट नवीकरण गर्न नसक्दा नेपाल जानमात्र नभइ बीमा र श्रम नवीकरणमा समस्या परेको बताए । पासपोर्टकै कारण कतिपयको रोजगार गुम्ने, श्रम नवीकरण गर्नसमेत नमिल्ने भएका कारण श्रमिकहरू थप अप्ठ्यारोमा पर्दै गएका कारण दूतावास थप जिम्मेवार बन्नुपर्ने र कतारका संघ संस्थाका प्रमुखहरूले कम्तीमा हस्ताक्षर संकलन गरेर दूतावासमार्फत चौबिसै घण्टा स्लट खुलाउन नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दबाब दिन ढिला भएको बताए । समाजका अगुवा भएर हिँडिरहँदा आफ्ना आफन्त र साथीभाइहरूको पासपोर्ट नवीकरणका लागि फारामसम्म भर्न नसक्दा आफूहरूलाई निकै अप्ठेरो महसुस हुने गरेको स्वयं पौडेल बताउँछन् ।
स्लट नखुल्दा कतारबाट पासपोर्टको फाराम भर्न नसकेर गुल्मीका कुमार राहादी मगर, बागलुङका नीराजन गौतम, अर्घाखाँचीका राम प्रसाद पराजुली, नवलपरासीका साजन लौडारीलगायतले पनि आफूहरु यो समस्याले आजित भइसकेको बताए । कतारमा कम्तीमा साप्ताहिकरूपमा १५ सय पासपोर्ट नवीकरणका लागि परराष्ट्र मन्त्रालयले स्लट उपलब्ध गराउनुपर्ने आवश्यकता देखिन्छ । स्लट नखुल्दा र बेलैमा पासपोर्ट नवीकरण गर्न नसक्दा श्रमिकहरू समस्यामा परिरहेका छन् ।