२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओलीको युवा जोश, राजनीतिमा नयाँ पुस्तालाई जोड्ने प्रयास

ADV
भावना पाठक
२०८१ असोज ४ गते ०६:४०
ओलीको युवा जोश, राजनीतिमा नयाँ पुस्तालाई जोड्ने प्रयास

काठमाडौं : संविधान दिवसको अवसरमा बिहीबार सरकारले संघीय राजधानी काठमाडौंको दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गर्‍यो । युवाहरूको बाक्लो उपस्थितिमा भएको उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भए । उनी जिन्सको पाइन्ट, ज्याकेट र क्याप टोपीमा देखिन्थे । साँधैजसो दौरासुरुवाल र कोटमा दखिने ओली युवाहरूको जमातमा पुग्दा जिन्स पाइन्ट, ज्याकेट र क्याप टोपीमा उपस्थित भएका हुन् । यसकारण पनि आर्कषणको केन्द्रमा परे । 

उसो त प्रधानमन्त्री ओली युवाहरूमाझ उपस्थित भइरहेका हुन्छन् । विद्यार्थीका कार्यक्रममा पुग्नेदेखि नाइट क्लबमा समेत पुग्छन् । 

यसअघि २०७९ साल कात्तिक २६ गते ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका थिए । र्‍याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी क्लब पुग्नुको कारण युवाको मन जित्ने प्रयास थियो । 

राजनीतिक दलहरूमा युवाले अवसर नपाएको र निराशा छाएको भनेर बहस हुने गरेको छ । यस्तो निराशा कम गर्न र युवालाई राजनीतिमा तान्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतमा दलले केन्द्रिय कमिटीमा युवा कोटा छुट्याउने अभ्यास गरिरहेका छन् । कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ पुस्ताबाट उक्त तहमा पुगेका नेता हुन् । एमालेमा पनि युवाले बिभिन्न फाँटमा अवसर पाइराखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा युवाकै बाहुल्यता छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व तहमै युवा छन् । युवाले अवसर नपाए नयाँ राजनीतिक दल खोल्न सक्ने वा नयाँ राजनीतिक दलमा आकर्षित हुन सक्ने त्रासले समेत पूराना दलहरू युवालाई अगाडि बढाउन र उनीहरूको मन जित्न अग्रसर भएको देखिन्छ । यस्तोमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अग्रपंतीमा देखिन्छन् । जो बिहीबार  दरबारमार्गमा आयोजित नेशनल डे कन्सर्ट उपस्थित मात्र भएनन्, युवा देखिन जिन्सको पाइन्ट, ज्याकेट र क्याप टोपी लगाए । 

प्रधानमन्त्री ओलीले दरबारमार्ग पुगेर संविधान दिवसको शुभकामना पनि दिए । अनौपचारिक पोशाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए । अन्य कैयन युवाहरूको हुलिया पनि त्यस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए ।

नागरिक स्तरबाट कन्सर्ट सञ्चालन गर्ने भनिए पनि सरकारले यसको समन्वय गरेको हो ।  कन्सर्टमा युवाहरु नेपाली झन्डासहित पुगे । उक्त कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिए । अन्य कलाकार र सेलिब्रेटीहरु समेत सहभागी भएको ठाउँमा प्रधानमन्त्री ओली पनि पुगेका हुन् । युवाहरूको मन जित्न पहिरनदेखि अभिव्यक्तिसम्म विशेष ख्याल गरेको देखिन्थ्यो । 

ADVADV

सम्बन्धित खबर

Advertise