२०८१ कार्तिक २६ गते सोमवार / Nov 11 , 2024 , Monday
२०८१ कार्तिक २६ गते सोमवार

अब औपचारिकरुपमै जापानमा नेपाली श्रमिक पठाइने श्रममन्त्री भण्डारीको उद्घोष

ADV
२०८१ असोज ५ गते ०६:३५
अब औपचारिकरुपमै जापानमा नेपाली श्रमिक पठाइने श्रममन्त्री भण्डारीको उद्घोष

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य अघि बढ्ने बताएका छन् । जापानको टोकियोमा नेपाल–जापान रोजगार सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भण्डारीले उक्त धारणा राखेको श्रम मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावास जापान र जापान एशोसिएसन फर दि इम्प्लोइमेन्ट अफ फरेन नेशनलले आयोजना गरेको सम्मेलनमा मन्त्री भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै जापान नेपालीहरुको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, ‘नेपाल र जापान सरकारबीच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको र निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने छ ।’

मन्त्री भण्डारीसँग जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी दुई पक्षीय रोजगारी प्रवद्र्धनका विषयमा छलफल गरेका छन् ।

जापानमा दक्ष नेपाली कामदारका लागि राम्रो अवसर रहेकोे छ । श्रम मन्त्रालय स्रोतका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने चर्चा लामो समयदेखि शुरु भएपनि प्रक्रिया भने अझैसम्म शुरु भएको छैन । 

सन् २०१९ मा एसएसडब्लु नीति लिएको जापानले नेपालसहित फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, चीन, कम्बोडिया, मंगोलिया, थाइल्याण्ड र भियतनामलगायतका देशबाट कामदार लगेको छ । तर सरकारीस्तरबाट कामदार पठाउने श्रम मन्त्रालयको अडान असफल हुँदा जापानको आकर्षक तलबको रोजगारीबाट बञ्चित नेपाली युवाहरु युद्धग्रस्त रुस, युक्रेन र इजरायलसहित न्यून तलब हुने खाडी मुलुकमा जानु परेको छ ।

जापानमा सन् २०३० सम्म ६४ लाखभन्दा बढी कामदारको अभाव हुने आंकलन गरिएको छ । उक्त अभावलाई पूर्ति गर्न जापानले तीन वर्षअघि नै विदेशी कामदार भर्नासम्बन्धी नयाँ नीति ल्याएको थियो । तर निजी क्षेत्रलाई दिँदा ठगी हुने नेपालमा रहेको सरकारी सोचले जापान सरकारले लिएको लचिलो नीतिको लाभ नेपालीले पाउन सकेका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise