२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

वैदेशिक रोजगार संघको भवन खरिदका लागि मध्यान्ह दैनिकबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

ADV
२०८१ असोज ६ गते ०६:३५
वैदेशिक रोजगार संघको भवन खरिदका लागि मध्यान्ह दैनिकबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रबार संघको कार्यालय तिलगंगामा आयोजित एक संक्षिप्त कार्यक्रममा मध्यान्ह दैनिककी प्रकाशक सीता श्रेष्ठ तथा सम्पादक मदनकुमार श्रेष्ठले संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई १ लाख ११ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरे ।

त्यस अवसरमा सम्पादक श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको समयमा संघको आफ्नो स्वामित्वको प्रशासनिक भवन हुनु अतिजरुरी देखिएको अवस्थामा वर्तमान कार्यसमितिले भवन खरिद गर्न लिएको निर्णय अत्यन्तै सान्दर्भिक रहेको महसुस गरी सहयोग प्रदान गरिएको बताए ।

तत्कालीन अवस्थामा नेपालका मूलधारका दैनिक पत्रपत्रिकाले स्थान र महत्व नदिएको अवस्थामा आफ्नो सम्पादकत्वको राष्ट्रिय दैनिकले वैदेशिक रोजगार क्षेत्रमा रहेका समाचारहरूलाई  महत्व दिइ पत्रिकाको अग्रपृष्ठमा विगत २२ वर्षदेखि हरेक दिन कम्तीमा एउटा वैदेशिक रोजगार विशेष समाचार प्रकाशन गर्दै आइरहेको स्मरण गर्दै सम्पादक श्रेष्ठले संघको भवनलाई आफ्नै भवन ठानेको बताए । सम्पादक श्रेष्ठले भने, ‘मध्यान्ह दैनिक वैदेशिक रोजगार व्यवसायी र व्यवसायको सुख दुःखको साथीहरु भन्ने हाम्रो दाबी छ, सबै व्यवसायीबाट सहयोग जुटाइ सबैको अपनत्व महसुस हुने गरी सकेसम्म छिटो भवन खरिद प्रक्रिया टुंगियोस् भन्ने शुभेच्छा रहेको छ, संघको भवनबारे छिट्टै देख्न र लेख्न पाइयोस् ।’

सो अवसरमा संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षको अवधिमा आफ्नै भवन नहुनुको पीडादायी अवस्थाको अन्त्य गर्न उपयुक्त स्थानमा भवन खरिदको प्रक्रिया अघि बढाइएको बताउँदै शुरुवाती अवस्थामा नै मध्यान्ह दैनिकले प्रदान गरेको सहयोगले आफूहरूलाई लक्ष्य प्राप्तिका लागि हौसला प्रदान गरेको बताए ।

उनले मध्यान्हले वैदेशिक रोजगारसँग सम्बन्धित समाचारलाई दैनिक पहिलो पृष्ठमा स्थान दिएर वैदेशिक रोजगार क्षेत्रलार्य व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गरेको बताए । उनले लेखनका माध्यमबाट मात्र नभइ संघको भवन खरिद प्रक्रियालाई पनि आर्थिक सहयोग गरेर ठूलो गुण लगाएको भन्दै मध्यान्ह दैनिकप्रति आभार व्यक्त गरे । उनले मध्यान्ह दैनिकले एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेपनि आफूहरुलाई उक्त रकम एक करोड बराबर रहेको महसुस भएको बताए ।

संघको आफ्नो भवन भएमा दैनिक कार्यालय सञ्चालन, भावी योजना निर्माण र कतिपय नीतिगत छलफलमा समेत गुणात्मक परिवर्तन ल्याउन सकिने भन्दै अध्यक्ष भण्डारीले सकेसम्म दशैं अगाडि नै भवन रजिष्ट्रेशन पास गरेर लिने योजना रहेको जानकारी दिए । उनले  कार्यालय भवन खरिदका लागि योगदान गर्न व्यवसायीहरूलाई पुनः आह्वानसमेत गरे ।

कार्यक्रम सञ्चालन गरेका संघका महासचिव मेघनाथ भुर्तेलले पनि सबै व्यवसायीलाई अनुकूल हुने गरी राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे तीन तले भवन खरिद गर्न ४ करोड ३० रूपैयाँमा बैनाबट्टा गरेपछि संघले उक्त रकम जुटाउन पहल थालेको अवस्थामा मध्यान्ह दैनिकले स्वतस्फूर्त रूपमा गरेको सहयोग सबै व्यवसायीका लागि प्रेरणादायी र संघ कार्यसमितिका लागि अविश्मरणीय रहने बताए । 

त्यसअवसरमा संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री ‘कुमार’, कोषाध्यक्ष सरिता घले, कार्यसमिति सदस्य तथा संघको साउदी संयोजक बैकुण्ठ प्रसाद पौडेल वैभव तथा मध्यान्ह दैनिकका उपसम्पादक मुकुन्द लामिछाने, रेशम राज पौडेललगायतको उपस्थिति रहेको थियो ।

संघले भवन खरिदका लागि न्यूनतम १ लाखदेखि २० लाख रूपैयाँसम्म योगदान गर्ने व्यवसायीलाई विभिन्न सम्मान प्रदान गरिने बताएको छ । २० लाख वा सोभन्दा बढी सहयोग गर्ने संस्था वा व्यवसायीको नाममा भवनका कार्यकक्ष नामाकरण, ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी आजीवन सदस्यताले सम्मानित गर्ने, दश लाख सहयोग गर्ने संस्था वा व्यवसायीलाई ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी आजीवन सदस्यताले सम्मानित गर्ने, पाँच लाख वा सोभन्दा बढी सहयोग गर्ने संस्था वा व्यवसायीलाई ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी सम्मानित गर्ने, तीन लाख सहयोग गर्ने संस्था वा व्यवसायीलाई सम्मानपत्र र शिलालेखमा नामांकन गर्ने निर्णय गरेको संघले बताएको छ ।

संघ कार्यसमिति सल्लाहकार, विभिन्न शुभेच्छुक घटक तथा घटक संस्थाका अध्यक्ष, महासचिव र प्रतिनिधिको सहभागितामा बसेको बैठकले भवन खरिदका लागि आवश्यक रकम जुटाउन योगदान गर्नुपर्ने रकम तोकिएको बताएको छ । यसअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले संघको भवन खरिदका लागि संस्थागतरूपमा ४७ लाख रूपैयाँ प्रदान गरेकोे थियो । अध्यक्ष भण्डारीले शुक्रबारसम्म भवन खरिदका लागि १ करोड रूपैयाँ संघमा जम्मा भइसकेको जानकारी दिए ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise