२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

पूर्वसहकर्मी सम्झिँदै प्रचण्ड

ADV
अस्मिता बम
२०८१ असोज ६ गते ०६:५५
पूर्वसहकर्मी सम्झिँदै प्रचण्ड

काठमाडौं : पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी फेरिएको छ । सत्ताबाट हटे यताको दुई महिनामा उनी पार्टीका कार्यक्रममा व्यस्त रहे । अन्य बिभिन्न कार्यक्रहरूमा पनि पुगिरहेका हुन्छन् । 

प्रमुख प्रतिपक्षी दलको नेतामा रहेका प्रचण्डको अभिव्यक्तिमा भने समानता भेटिन्छ । आफू नेतृत्वको सरकार ढाल्न दुई ठूला दल मिलेको एउटै विषय दोहोर्‍याइरहन्छन् । आफूले राम्रो काम गर्न खोज्दा खोज्दै हटाएको दुःखेसो गर्छन । साथमा मिसाउँछन् पूर्व माओवादी घटकहरूको एकता । 

शनिवार पनि यस्तै अभिव्यक्ति दोहो¥याए । शहीद शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

‘हामीसँग हजारौं महान राष्ट्रिय शहीदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय सम्भव छ ।’

तर, माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारीमा रहेका नेपाल समाजवादी पार्टी फुटाएर बसेको महिन्द्र राय यादव नेतृत्वको समूह, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग भने एकतालाई धकलिरहेको छ । 

संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड सबै पूर्व माओवादी घटक मिल्नुपर्ने दलिल गरिरहेका छन् । 

संसदको शक्तिभन्दा नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको दाबी गर्दै उनी फेरि पनि सत्ता देखाइरहेका छन् । 

लामो प्रयासपछि शान्ति प्रक्रियासम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला अन्तिम समयमा सर्वदलीय बैठकमार्फत टिआरसी टुंग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टिआरसी कानुन बनिसकाले अब आफूहरुको ध्यान आयोगहरु बनाउनेतर्फ केन्द्रित रहेको बताए ।

आयोग बनाउने र आयोगमा सही नेतृत्व ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएपछि शहीद तथा बेपत्ताहरुको राष्ट्रिय सम्मान र परिवारलाई परिपूरणको बाटो खुल्ने बताए ।

अध्यक्ष प्रचण्डले अब माओवादी घटकहरु मिलेर जानुपर्ने भन्दै एकताका लागि आह्वान गरे । आफू फेरि सत्तामा फर्किने आश देखाएर पनि उनी पूर्व घटकहरूसँग नजिकित खोजिइरहेका छन् । 

शनिवार यही आशय आउने गरी उनले आफूलाई सत्ताबाट हटाइँदा विश्वको ध्यान तानिएको बताए । बेलायतले प्रधानमन्त्रीभन्दा माथि भन्दै आफूलाई पत्र पठाएको बताए ।

माओवादी केन्द्रको चितवन–काठमाडौं समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको बताए ।

‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ’ उनले भने । 

प्रचण्डले आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि बेलायतका राजदूतले प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र आफूलाई दिएको बताए । उनले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीको हैसियतभन्दा माथिको मान्छे भन्दै आफूलाई पत्र दिएको सुनाए । 

ADVADV

सम्बन्धित खबर

Advertise