२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एकीकृत समाजवादीमा दुई धार : देउवातिर माधव, ओलीतिर झलनाथ

ADV
दिवाकर अधिकारी
२०८१ जेठ १७ गते १०:१२
एकीकृत समाजवादीमा दुई धार : देउवातिर माधव, ओलीतिर झलनाथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीमा दुई धार देखा परेको छ । वैकल्पिक सरकार गठनको कसरतमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निरन्तर संवादमा छन् । यही बेला अर्का नेता झलनाथ खनाल वाम ध्रुवीकरणको एजेण्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल भेटिरहेका छन् । 

बिहीबार बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो । 

उक्त भेटवार्तामा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् । 

तर प्रधानमन्त्री प्रचण्ड आफू नेतृत्वको सरकारमा रहेको एकीकृत समाजवादी कांग्रेस नेतृत्वमा कसरत भइरहेको गठबन्धनमा नजाने दाबी गर्छन् । 

प्रधानमन्त्री प्रचण्डले बिहीबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । उनले माधव नेपाल एमाले–माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा माधव नेपालसँग आफ्नो कुरा भइरहेको पनि सुनाए । 

‘आज बिहानमात्रै पनि मेरो माधव नेपालसँग कुरा भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ’ प्रचण्डले भने । 

तथापि, नेपाल यता र यता गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न’ प्रधानमन्त्री प्रचण्डले दृढता व्यक्त गरे । 

नेताहरु माधव नेपाल र झलनाथ खनाले धेरै पहिलेदेखि फरक भूमिकासहित देखिने तर, एकै ठाउँमा रहने प्रवृतिका नेतृत्व भएको टिप्पणी गर्छन । पछिल्लो समयको गतिविधि पनि त्यस्तै भएको उनीहरुको दाबी छ । 

यसअघि, प्रचण्ड नेतृत्वमा सरकार बनेपछि एकीकृत समाजवादी निरन्तर साथै रहँदै छ । तर, प्रचण्डले समीकरण जता बदल्यो त्यतै पुग्ने गरेको भन्दै पार्टीभित्र कतिपयले प्रश्न उठाउने गरेका छन् । यसलाई अर्थपूर्ण रुपमा लिएर माधव नेपाल कांग्रेस र माओवादी, एमाले सँग साथै रहँदै आएका छन् । झलनाथ खनाल भने सुरुदेखि वाम एकताको वकालत गर्दै आएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise