२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

किम्फमा ‘डान्सिङ इन फायर’

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
किम्फमा ‘डान्सिङ इन फायर’

काठमाडौं : नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौंमा जारी २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा बिहीबार प्रदर्शन गरिएको छ । 

नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहेका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गरेको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गरेका छन् ।

आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौं उपत्यका आसपासका क्षेत्रमा छ । सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । 

एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दुःखबाट छुटकारा पाउन परिवार र सिंगो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ ।  

‘यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौं । विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ । यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौं,’ निर्देशक खड्काले भने ।

गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । 

उनका अनुसार वृत्तचित्र सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ ।

यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise