२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

साइक्लिङसँगै सामाजिक कार्यमा बाणगंगा राइडर्सको सक्रियता

ADV
क्षितिज किरण
२०८१ जेठ ३१ गते २१:५२
साइक्लिङसँगै सामाजिक कार्यमा बाणगंगा राइडर्सको सक्रियता

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्थापना भएको बाणगंगा राइडर्स क्लबले साइक्लिङसँगै सामाजिक र मानवीय कार्यको पनि थालनी गरेको छ । 

वातावरणीय तथा शारीरिक स्वास्थ्यको लागि साइकल चलाउनुपर्दछ भन्ने जनचेतना जगाउने उद्देश्यले स्थापना भएको क्लबले अब सामाजिक कार्यमा पनि संलग्न रहनुपर्दछ भन्ने निर्णय गर्दै वडा नम्बर १ बाट सामाजिक कार्यको थालनी गरेको हो ।

उत्तमनगर ‘उप्टहवा’ मा बनेको स्वास्थ्य चौकीमा बिरामीको लागि शुद्ध खानेपानीको सुविधा छैन भन्ने जानकारी आएपछि  क्लबमा आवद्ध सदस्यहरुले रकम जुटाइ तातो चिसो शुद्ध पानी पिलाउने फिल्टर मेसिन हस्तान्तरण गरेका हुन् । क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटा, क्लबको परिकल्पनाकार विष्णु घिमिरे लगायतको टोली मंगलबार बिहानै साइकल पोशाकमै फिल्टर हस्तान्तरणको लागि स्वास्थ्य चौकीमा पुगेका थिए ।

फिल्टर ग्रहण गर्दै स्वास्थ्य चौकीकी इन्चार्ज ईश्वरा खरेलले बिरामीको लागि क्लबले ठूलो गुन लगाएको बताइन् । 

‘आमा समुहले दिएको जग्गामा स्वास्थ्य चौकीको भवन बनेको भएतापनि त्यहाँ अझै पनि केहि कुराहरुको अपुग छ,’इन्चार्ज खरेलले भनिन्, ‘क्लबले  निकै राम्रो काम गरेको छ । हामीले नगरमा पनि यसबारे समीक्षा गर्नेछौँ । हजुरहरुको सहयोगले यहाँ आउने बिरामीको लागि धेरै राम्रो गर्नेछ ।’

उनले स्वास्थ्य चौकीको समग्र अवस्था ‘राम्रो र अभाव पक्ष’ बारे पनि बताएकी थिइन् । स्वास्थ्य चौकीले क्लबलाई खादा, पुष्पगुच्चाले स्वागत गरेको थियो ।

क्लबका अध्यक्ष सापकोटाले क्लब स्थापना भएको धेरै समय भएको भएपनि दर्ता प्रकृया पूरा भएको २ महिना मात्र भएको जानकारी गराउँदै आगामी दिनमा नगरका दुखी,गरिब र असहाय ठाउँमा क्लब पुग्ने, जनचेतनामुलक कार्यक्रम तथ पर्यावरण संरक्षण र सरसफाइको लागि काम गर्ने बताए ।

कार्यक्रमको संचालन सचिव रामचन्द्र बेलबासेले गरेका थिए । उनका अनुसार अब जनप्रतिनिधिका कामको पनि क्लबले बेलाबेलामा अनुगमन गर्ने छ ।

टोली अब नगरका कुना कन्दरामा पुग्ने र विकास निर्माणको अवलोकन र अध्ययन संगै आवश्यक ठाउँम खबरदारी गर्ने क्लबका सदस्यहरु बताउँछन् । क्लबमा करिब ४० जना सदस्य आवद्ध छन् । सबै सदस्यहरु यस क्षेत्रका ब्यापार, ब्यवसाय र पेशामा आवद्ध भएका ब्यक्ति हुन् ।

उनीहरु विहान विहान क्लबको पहेँलो जर्सी लगाएर नगर भित्र तथा बाहिरका बिभिन्न ठाउँहरुमा साइकल चलाएर पुग्ने गर्दछन् । स्वास्थ्य बन्न र बातावरण सफा राख्नको लागि यस्तो अभियान सुरु गरिएको क्लबका उपाध्यक्ष विष्णु गैरेले बताए । टोलीलाई देखेर अहिले क्लबप्रति आकर्षण बढेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise